PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश १ मा आज ३३२ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा आज ३३२ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आइतवार ३३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ४६५ जना डिस्चार्ज भएका छन्। त्यस्तै, ५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

आइतवार डिस्चार्ज भएकामा होम आइसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना रहेका छन्। योसँगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेश १ मा आइतवार नै ३३२ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये मोरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ सय जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ४९ महिला र ५१ पुरुष रहेका छन्। इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २/२, बर्जु र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, मोरङको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३/३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ। झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ।

प्रदेश १ मा आइतवार १ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

५ जना संक्रमितको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ५ जना संक्रमितको मृत्यु भएको छ। जसमा मोरङका ४ जना र सुनसरीका एक जना रहेका छन्।

विराटनगरस्थित नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए। भेन्टिलेटरमा उपचाररत दुवै संक्रमित मोरङका रहेको उनले बताए।

त्यस्तै, कोशी अस्पताल कोभिड उपचार केन्द्रमा उपचाररत एक महिलाको मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले बताए।

आइतवार नै विराटनगरकै न्यूरो कार्डियो मल्टीस्पेसियालिटी अस्पतालको कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको पनि मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकाका ५८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कर्मचारी उमेश शर्माले जानकारी दिए।

त्यसैगरी, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ। सुनसरीको इटहरीका ७८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह(प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell