PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन राजस्व कार्यालयलाई बुझायो



राधेश्याम पटेल

पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन राजस्व कार्यालयलाई बुझायो

वीरगंज : पर्सा प्रहरीले दुई दिनअघि वीरगंजबाट बरामद गरेको करिब २३ किलो सुन र चाँदीको गहनाहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। सोमवार दिउँसो पर्सा प्रहरीको टोली पथलैया पुगेर कागजी प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान कार्यालयलाई सुन बुझाएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराइन्। 

शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म चलेको सर्च अपरेसनमा वीरगंज-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट करिब २३ किलो सुन र २.२६२ किलोग्राम चाँदीका गहना, भाँडाकुडा बरामद भएको थियो। पूर्व सूचनाको आधारमा प्रहरीले छापा मार्दा अहिलेसम्मकै वीरगंजबाट ठूलो परिमाणमा सुन बरामद गरेको होे।

लकडाउनको बेला सीमानाका बन्द र तेस्रो मुलुकबाट अवैधरूपमा सुन आयात गरी भारततर्फ तस्करी गर्ने क्रममा उक्त सुन वीरगंजको उक्त फ्ल्याटमा लुकाइराखेको अवस्थामा फेला परेको थियो।

प्रहरीले १ किलोका १३ वटा सुनको बिस्कुट, सुनको बिस्कुट मझौला फाइभ टिएइएलएस ९९९९ सुन ४६ पिस (८ किलो ५७६ ग्राम), सय ग्रामको सानो सुनको बिस्कुट १० पिस (१ किलो) र  सुनका विभिन्न गरगहना (६८१ ग्राम) गरी २३ किलो २५७ ग्राम सुन बरामद भएको थियो।

वीरगंज-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याट भारतको बिहार राज्य रक्सौलका अशोक सिन्हाको भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell