आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजनानुसार नै सो दिनमा एकै पटक शिलान्यास गर्ने तयारी गरिएको हो।
सरकारको योजना अनुसार निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने छ। सोही डिजाइन अनुसार सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ गर्ने गरी मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्ने ध्येयले आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको अर्थ मन्त्रालयले जनाएको छ।
कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने उपकरण, भेन्टिलेटरलगायत यन्त्र सामग्री तत्काल खरिद गर्ने गरी आवश्यक तयारी गरिएको छ।
सरकारको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र सोका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने भएको छ। कोभिड – १९ को रोकथामका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र र स्वास्थ्य मन्त्रालयको सहयोगमा अगाडि बढाउनेछ।
त्यस्तै कोरोनाविरुद्ध विकास हुने खोपलगायत अन्य आपत्कालीन औषधिको प्रयोग व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले अविलम्ब प्रक्रिया अगाडि बढाउने निर्णयसमेत भएको प्रवक्ता दङ्गालले जानकारी दिए। रासस
