PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले उपचार नगर्ने भनेपछि विराटनगरमा संक्रमितले लगाए 'केपी ओली मुर्दावाद'को नारा, निको नहुँदै भए डिस्चार्ज



फूलमाया पुरी

सरकारले उपचार नगर्ने भनेपछि विराटनगरमा संक्रमितले लगाए 'केपी ओली मुर्दावाद'को नारा, निको नहुँदै भए डिस्चार्ज

विराटनगर: आइतबार सरकारले कोरोना संक्रमितको उपचारमा खर्च गर्न नसक्ने र संक्रमित आफैँले सबै खर्च बेहोर्नुपर्ने निर्णय सार्वजनिक गर्‍यो। निर्णय सार्वजनिक भएकै दोस्रो दिनबाट मोरङका दुई निजी अस्पतालले संक्रमितको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्वयं विरामीले तिर्नुपर्ने खबर आइसोलेसनमा उपचाररत संक्रमितलाई सुनाए।

ती दुई अस्पतालहरुमा एक विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल हो भने अर्को बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल। संघीय सरकारसँगको सम्झौतामा कोभिड आइसोलेसन सञ्चालनमा ल्याएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सरकारको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्यायो।

अस्पतालले संक्रमितको उपचारमा लाग्ने शुल्क पनि निर्धारण गरिसकेको छ। जुन कात्तिक ३ गतेदेखि लागू हुने अस्पतालको कोभिड आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए। देवका अनुसार सरकारले कोरोना संक्रमितको उपचारका लागि शुल्क प्रतिदिन सात हजार रुपैयाँ दिने गरेको थियो। अहिले अस्पतालले प्रतिदिन आठ हजार रुपैयाँ बनाएको छ।

आइसियू बेडमा उपचार गरेको प्रतिदिन ३५ हजार छ भने भेन्टिलेटरमा उपचार गरे ५० हजार लाग्नेछ। सोही रकमभित्र खाना र उपचारमा लाग्ने सम्पूर्ण खर्च समेटिने देवले बताए। यसरी सामान्य अवस्थाभन्दा शुल्क बढी लिनुको कारण कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीको तलब भत्तामा बृद्धि हुनु भएको उनको भनाइ छ। जोखिम मोलेर काम गर्नुपर्ने हुँदा सुरक्षा भत्ताको पनि व्यवस्था गर्नुपर्ने देवको तर्क छ।

‘हामी चारपटक खाजा खानाको व्यवस्था गर्छौं, अन्य सम्पूर्ण उपचार खर्च पनि त्यसैभित्र पर्छ,’ देवले भने।

त्यसो त गरिब एकल महिला अपांग र पत्रकार संक्रमित भई उपचार गर्नु परेमा सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था गरेको पनि उनले बताए।

‘यदि कोही उपचार गर्न नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका गरिब, एकल महिला अपांग र पत्रकार संक्रमित भई उपचार गर्नु परेमा सिफारिस लिएर आएमा निःशुल्क उपचार गर्नेछौँ,’ उनले भने, ‘तर, सम्बन्धित निकायको सिफारिस हुनै पर्‍यो।’

सरकारले हामीलाई धोका दियो भन्दै उनले संघीय सरकारप्रति गुनासो गरे। सरकारले आइतबार अचानक निर्णय गरेको र सोमबारदेखि नै निर्णय लागू गर्न भनेकाले धोका भएको उनले सुनाए। देवका अनुसार अस्पतालले संक्रमित भई उपचाररत सबैलाई सरकारको निर्णय हिजै सुनाएको थियो। निर्णय सुन्नासाथ संक्रमित केपी ओली मुर्दावाद भन्दै कराएका थिए।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकमा विराट अस्पतालको कोभिड आइसोलेसनबाट ७ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। तर, हिजो निर्णय सुनाएसँगै सोमबार साँझसम्म ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणमुक्त भएर होइन सरकारको निर्णय र अस्पतालको उपचार खर्चलाई थेग्न नसकेर डिस्चार्ज भएको उनले बताए।

‘आज अस्पतालबाट डिस्चार्ज भएकाहरुले केपी ओली मुर्दावाद भन्दै गए, अब सबै संक्रमितहरुले उपचार गर्न सक्ने अवस्था रहेन’, उनले भने, ‘त्यसै त कोरोना संक्रमणको डरले परीक्षण गर्न नमान्नेहरु अब उपचार खर्चको तनाव लिन सक्दैनन्।’

अस्पतालको आइसियूमा १८ जना तथा भेन्टिलेटरमा ७ जना रहेको पनि उनले जानकारी दिए।

यता विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा भने शुल्क निर्धारण भइसकेको छैन। आइतबार सरकारले निर्णय गरे पनि अस्पतालले के कति शुल्क लाग्ने भन्ने निर्णय गरिनसकेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

‘हिजोसम्म सरकारसँग भएको सम्झौता अनुसार हाम्रो अस्पतालले सम्पूर्ण खर्च बेहोरेको थियो, हिजो सरकारले निर्णय गर्यौँ आजबाट लाग्ने सबै रकम बिरामी आफैंले तिर्नुपर्नेछ’, उनले भने, ‘तर, अहिले नै हामीले शुल्क निर्धारण गरिसकेका छैनौँ।’

प्रबन्धक दाहालका अनुसार संक्रमितमध्ये ७७ जना जनरल बेडमा, ९ जना आइसियूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन्।

सरकारको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याएका दुई निजी अस्पतालले आइसोलेसनमा उपचाररत संक्रमितहरुलाई जानकारी गराएका छन्। तर, सरकारकै मातहतमा रहेको कोशी अस्पतालले भने अहिलेसम्म सरकारको निर्णय लागू गर्नेबारे आइसोलेसनमा उपचाररतलाई नसुनाएको र सबै खर्च अस्पतालले नै गरिरहेको बताएको छ।

सरकारको उक्त निर्णय अस्पतालमा उपचाररत कसैलाई पनि नसुनाएको अस्पतालकी मेट्रोन तथा सूचना अधिकारी मञ्जु यादवले बताइन्।

‘हिजो सरकारले निर्णय गरे पनि अहिले हामीले त्यसलाई लागू गरिसकेको अवस्था छैन। हामी आफैंले संक्रमितको उपचार खर्च बेहोरिरहेका छौँ,’ यादवले भनिन्।

यादवका अनुसार कोशी अस्पतालको आइसोलेसनमा पाँच जना कोरोना परीक्षणको रिपोर्ट पर्खिरहेकामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ र थप उपचारका लागि भर्खरै कोभिड उपचार केन्द्रमा सारिएको छ। हाल ४९ जना कोरोना संक्रमित कोभिड उपचार केन्द्रमा उपचाररत रहेको अस्पतालको तथ्याकं छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell