PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किन कमजोर भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन?



पहिलोपोस्ट

किन कमजोर भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन?

  • राजु आचार्य -

हाम्रो जस्तो विकासोन्मुख देशहरूमा विकाससँग गाँसिएको मुद्दाहरूमा वातावरणीय विषय प्राय गौण हुन्छन्। त्यसैले पनि चर्चा र प्राथमिकता कम हुने गरेको छ। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वातावरणीय मुद्दाहरूमा चुकेको छ। वातावरण प्रभाव मूल्याङ्कन गर्ने समयदेखि लिएर यसको कार्यान्वयन अवधिसम्म कमजोर प्रस्तुति देखिएको छ। वन्यजन्तुका मुद्दामा त यसले एकदमै कम बोलेको भन्दा पनि हुन्छ। यो लेखले वन्यजन्तुसहित जैविक विविधताको मुद्दाहरूलाई हेर्ने प्रयास गरेको छ।

खासमा किन गरिन्छ वातावरण प्रभाव मूल्याङ्कन?

कुनै पनि परियोजनाहरू निर्माण गर्दा वा गरिसकेपछि कस्ता खालका जैविक,सामाजिक,आर्थिक र सांस्कृतिक असर हुन्छन् भनेर मूल्याङ्कन गरिन्छ। यसका लागि निश्चित मापदण्ड पूरा गरेर विज्ञहरूको सहयोगमा वातावरण प्रभाव मूल्याङ्कन तयार गरिन्छ।

नेपालमा एउटा भ्रम के छ भने यस्तो मूल्याङ्कन वा इआइए गरेपछि जतिसुकै असर गरे पनि परियोजनाहरू संचालन गर्न पाइन्छ भन्ने। हुन पनि त्यस्तै भएको छ। तर, त्यसो चाहिँ होइन। कहिले काहीँ परियोजना गर्न नमिल्ने भनेर प्रतिवेदनमा सिफारिस हुनसक्छ। तर, नेपालमा यस्तो सिफारिस सायदै होलान्।

विगतमा नेपालका ठूला आयोजनाहरू पूर्वी राप्ती सिचाई परियोजना र अरुण तेस्रो जलविद्युत जस्ता आयोजना रोकिनुको कारण वातावरणलाई पनि मान्नेहरु छन्। निजगढ विमानस्थलको विवाद पनि वन र वन्यजन्तुसँग सम्बन्धित छ।

वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनले परियोजना निर्माण वा निर्माणपछि हुने असरलाई कम गर्न सुझावहरू दिने गर्छ। यो प्रक्रियामा विज्ञ, स्थानीय निकाय, स्थानीय समुदायहरू र मन्त्रालयका प्रतिनिधिहरू प्रत्यक्ष/अप्रत्यक्ष संलग्न हुन्छन्।

प्रतिवेदन कसले तयार गरेको हो?

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तयार गरिएको यो प्रतिवेदन २ सय १९ पेज लामो छ। मस्यौदा तयारीका लागि सुरुवाती दिनमा स्थानीय मिर कन्सल्टेन्ट प्रालि सहभागी भएको थियो यसमा। तर, यस सम्बन्धी सबै काम जोशी असोसियट कन्सल्टिङ इन्जिनियरिङ एन्ड आर्किटेक्चरल फर्मले गरेको थियो।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया २०६० सालमा सुरु गरेर २०७१ साल माघमा मन्त्री स्तरको निर्णय बमोजिम वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्रदान गरेको थियो।

जैविक विविधताको बारेमा यो प्रतिवेदनले के भन्छ?

पोखरामा केही हप्ता अघि उक्त प्रतिवेदन हेर्न खोज्दा विमानस्थलका पदाधिकारीहरूले पत्रकारहरूलाई सो प्रतिवेदन उपलब्ध गराएनन्। विमानस्थल निर्माणले वातावरणमा कस्तो असर गरेको छ र तिनलाई कसरी समाधान गरिएको छ भन्नेबारे सम्बन्धित निकाय मौन भएर काम गरिरहेको छ। यति लामो प्रतिवेदनले जैविक विविधताको बारेमा असाध्यै कम बोलेको छ। बोलेको कुरा पनि अपुग छन्।

प्रतिवेदनले धेरैजसो विमानस्थल निर्माणले पर्यटन क्षेत्र सुधार हुने र यसले स्थानीय वातावरणमा न्यून असर पुग्ने बताएको छ। देखिएका असरहरू पनि सजिलै समाधान गर्न सकिने भनेर उल्लेख गरेको छ। विमानस्थलको ६४ प्रतिशत काम भइसक्दा पनि कुनै पनि प्रयासहरू अहिलेसम्म सुरु गरिएको छैन। केही समय अघि कान्तिपुरमा चरा सम्बन्धी समाचार प्रकाशित भएपछि जुरमुराएको विमानस्थल निर्माणमा सहभागीहरू फेरि चुप लगेर बसेका छन्।चराहरू : चरासहित सबै जैविक विविधताको अवस्था पत्ता लगाउन प्रकाशित सूची सङ्कलन, फिल्ड सर्वेक्षण र स्थानीयसँग प्रश्नोत्तर विधि प्रयोग गरिएको उल्लेख छ। चराको सूची हेर्दा तीन पटक गरिएको भनिएको फिल्डको काम निकै फितलो देखिन्छ। वैज्ञानिक नामहरूमा समेत त्रुटि छ। पोखरा पन्छी समाजद्वारा प्रकाशित मनशान्त घिमिरेको नेतृत्वमा प्रकाशित पुस्तकले पोखरा उपत्यकामा करिब ४ सय ७० प्रजातिका चराहरू पाइने बताएको छ। तर प्रतिवेदनले जम्मा २८ प्रजातिको बारेमा मात्र उल्लेख गरेको छ। विमानस्थल नजिक र हवाईजहाजको उडान र अवतरणको क्रममा असर पार्न सक्ने चराहरूको उल्लेख नै छैन।

‘विमानस्थल वरपर मात्रै १ सय ६२ प्रजाति सहजै भेटिन्छन्। निर्माणाधीन विमानस्थल वरिपरि विश्वमै दुर्लभ ८ प्रजातिका चराहरू नियमित उडिरहन्छन्। पोखरा उपत्यकाको कुरा गर्ने हो भने करिब २९ प्रजातिका विश्वमै दुर्लभ चराहरू अभिलेख गरिएका छन्,’अनुसन्धानकर्मी हेमन्त ढकालले भने। तर, यी जानकारी प्रतिवेदनमा छैन।

प्रतिवेदनमा उल्लेखित २८ प्रजातिमा पनि परेवा, गिद्ध, ढुकुर, चिबे जस्ता सामान्य शब्दहरू प्रयोग गरिएको छ। जबकि यस्ता प्रतिवेदनहरूले कुन गिद्ध, कुन ढुकुर भनेर प्रजाति नै उल्लेख गर्नुपर्ने हुन्छ।

स्तनधारी : पोखरा उपत्यका वरपर पाइने भनेर २६ प्रजातिका स्तनधारी जीवहरू उल्लेख छ। जबकि पोखरासँगै जोडिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै करिब १२८ प्रजातिका स्तनधारी अभिलेख छन्। स्थानीयको हवाला दिँदै चितुवा, बाँदर र स्याल बढेको समेत उल्लेख गरेको छ।

हालसम्म समुन्द्री सतहबाट ५ सय मिटर तल अभिलेख गरिएको तामे सालक पाइएको उल्लेख गरिएको छ। विमानस्थल क्षेत्र समुन्द्री सतहबाट ८ सय मिटर माथि रहेको छ। ठूलो न्याउरी मुसा पनि तराईमा मात्र पाइएको छ। तर, यो प्रतिवेदनले यस क्षेत्रमा पाइएको भनेर उल्लेख गरेको छ। विमानस्थल क्षेत्रमा पाइने स्तनधारीको बारेमा यो प्रतिवेदनमा कम उल्लेख गरिएको छ।

बिरुवाहरू : प्रतिवेदनमा प्रत्यक्ष असर गर्ने र नगर्ने क्षेत्र भनेर इलाका तोकिएको छ। विमानस्थलबाट ५ सय मिटर परसम्म प्रत्यक्ष असर गर्ने भने पनि सो क्षेत्रमा पाइने सिमल, खयर, लप्सी, पाखुरी, आँप, अमला लगायतका कुनै पनि बिरुवाको जानकारी राखिएको छैन। प्रत्यक्ष असर नगर्ने क्षेत्रमा अरूले गरेका कामहरूको नक्कल गरेर प्रजातिहरूको नाम उल्लेख गरिएको छ। बेगनास ताल र फेवा ताल (सीमसार क्षेत्र)मा पाइने बिरुवाहरूको सूची किन राखेको होला बुझ्न सकिएन।

हर्पेटोफाउना : हर्पेटोफाउना भन्ने बित्तिकै सरीसृप र उभयचर पर्ने भए पनि शीर्षकमा‘सरीसृप र हर्पेटोफाउना’भनेर गलत तरिकाले राखिएको छ। हिज्जेमा पनि कमजोरी देखिन्छ। यसै समूहभित्र पुतली, गाइने किरा, शङ्खे किरा आदिको बारेमा पनि उल्लेख गरेर यो प्रतिवेदनलाई हाँस्यास्पद बनाइएको छ। यस अन्तर्गत पोखरामै नपाइने भ्यागुताको बारेमा पनि उल्लेख गरिएको छ।

सर्प : सर्प संरक्षण समाज नेपालका अनुसार पोखरा उपत्यकामा करिब ३७ प्रजातिका सर्पहरू पाइन्छन्। पुरानो सूचीलाई हेर्ने हो भने पनि कम्तीमा २१ प्रजाति अभिलेख छ। तर प्रतिवेदनले सो बारेमा कुनै उल्लेख गरेको छैन। विमानस्थल निर्माणको क्रममा दिनहुँ भेटिने सर्पहरु वातावरण प्रभाव मूल्याङ्कनका विज्ञहरू आउँदा किन भेटिएन होला? विमानस्थल सञ्चालन पछि धावनमार्ग र वरिपरि देखिने सर्पहरूलाई कसरी व्यवस्थापन गर्ने बारेमा पनि प्रतिवेदन मौन छ। सर्प सहित सो क्षेत्र सिकारी चराको लागि राम्रो मानिन्छ।

प्रतिवेदनमा किन कमजोर भयो जैविक विविधता?

प्रतिवेदनले अजिङ्गरबाहेक कुनै पनि दुर्लभ जीवहरू विमानस्थल क्षेत्र वरपर अभिलेख नगरिएको बताएको छ। थुप्रै सिकारी तथा अन्य वर्गका विश्वमा दुर्लभ चराहरू पाइने भए पनि यो प्रतिवेदन मौन रहेको छ। अन्तर्राष्ट्रिय सङ्गठन वा संस्थाहरूले यस्ता परियोजनामा सकेसम्मे हात हाल्दा वातावरणीय मुद्दाहरूलाई निकै विचार पुर्‍याउने गर्छन्। दुर्लभ वन्यजन्तु भए तिनको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म परियोजना अघि बढ्दैन। कतै यही डरका कारण समेट्नुपर्ने विषयहरु नसमेटिएको त होइन भनेर प्रश्न गर्ने ठाउँ देखिन्छ।

'यस्ता टोलीमा वन्यजन्तु विज्ञ बिरलै राखिन्छ। राखिहाले पनि एक जना राखिन्छ जसलाई सबै विषयमा ज्ञान नै हुँदैन। प्राणीशास्त्रको राखे बिरुवा चिन्दैन, वनस्पति विज्ञ राखे वन्यजन्तु चिन्दैन। अनि कसरी जैविक विविधताको बारेमा जानकारी आउँछ त?,’ वातावरणविद् बालमुकुन्द पोख्रेल भन्छन्, 'वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अस्वस्थ प्रतिस्पर्धा समेत छ। कम मूल्यमा यस्तो काम गर्दा, तथ्याङ्कहरूको गुणस्तरमा प्रश्न उठ्ने नै भयो।'

विकास पूर्वाधारका विभिन्न परियोजनाहरूका वातावरण प्रभाव मूल्याङ्कन गर्ने कार्यमा संलग्न वातावरण इन्जिनियर एवं नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा नवराज खतिवडा नेपालको प्रचलित वातावरण व्यवस्थापनका तौरतरिका र नीतिबाट सन्तुष्ट छैनन्।

‘वातावरण प्रभाव मूल्याङ्कन’ले वातावरण संरक्षण र द्रुत आर्थिक विकासको साँध सीमा छुट्याउने आलीको काम गर्छ,' खतिवडा भन्छन्, 'वातावरण प्रभाव मूल्याङ्कन नगरी वा गरे पनि अन्धाधुन्ध निर्माण गरिएका परियोजनाका कारण अहिले बाढी, पहिरो र वातावरण विनासले ठूलो जनधनको क्षति भएको छ। जनधनको क्षतिमा समेत चासो नराख्नेले वन्यजन्तुको मुद्दालाई किन चासो राख्थे र?’

पोखराको यो प्रतिवेदन हेर्दा यस टोलीमा वन्यजन्तु विषयसँग सम्बन्धित विज्ञहरू थिएनन् भन्ने पनि सङ्केत गर्दछ। धेरै विषयका विज्ञहरू राख्दा खर्च बढी हुने देखिएपछि नराखेको पनि हुन् सक्छ। सो समयमा संलग्न सरोकारवालाहरू पनि यी मुद्दाहरूमा खासै चासो राखेको देखिँदैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयबाट तत्कालीन पोखरा उपमहानगरपालिकासँग सो सम्बन्धमा राय मागिएको थियो। २४ दिनमा नै जवाफ दिँदै उपमहानगरले वातावरणीय असर नपर्ने उल्लेख गरेको थियो। मिति २०६३ साल माघ १५ गते च.न. १६४९२ को पत्रमा 'वातावरणमा खासै उल्लेख्य प्रतिकुल प्रभाव पर्ने नदेखिएको ब्यहोरा सिफारिस एवं अनुरोध गरिन्छ’भनिएको छ। पोखरा नगरपालिकाले के का आधारमा सो उल्लेख गरेको हो थाहा हुन सकेन। अनुसन्धान नै गरेको भए पनि २४ दिनमा त्यो सम्भव थिएन। यसबाट नै सरोकारवाला वन्यजन्तुको मामिलामा कति हलुकासँग प्रस्तुत हुन्छन् भन्ने प्रस्ट हुन्छ।

अन्तमा,

वातावरण प्रभाव मूल्याङ्कन निर्माणमा थुप्रै वन्यजन्तु र जैविक विविधताका जानकारीहरू छुटेका छन्। समावेश गरिएका पनि पूर्ण छैनन्। अहिलेसम्म पनि सुरु नगरिएको यिनको संरक्षण कार्यान्वयन पाटो कमजोर त हुने नै भयो। वन्यजन्तुको आवागमनले हवाइजहाजको आवागमनलाई पार्ने असरको बारेमा प्रतिवेदन मौन बसेको छ। यो प्रतिवेदन पनि अन्य प्रतिवेदन जस्तै कर्मकाण्डी हो वा वास्तविक रूपमा लागू हुन्छ अझै हेर्न बाँकी छ।

वातावरण प्रभाव मूल्याङ्कन निर्माणका विभिन्न चरणमा सम्बन्धित निकायहरूले प्रतिवेदनमा सुझाव सङ्कलनको लागि सार्वजनिक रूपमै आव्हान गर्छन्। तर, हामी मध्ये कतिले सो ड्राफ्ट प्रतिवेदनमा सुझावहरू दिएका छौं त? सायद, थोरैले। यसको मतलब यो प्रतिवेदनमा कमजोरी देखिनु भनेको हाम्रो कमजोरी पनि देखिनु हो। वातावरण प्रभाव मूल्याङ्कन गर्नेहरू मात्र होइनन्, हामीहरू पनि सच्चिनु अपरिहार्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell