PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्यमन्त्री ढकालले भने : फ्रन्टलाइनमा खटिएका र जेष्ठ नागरिकको मात्रै उपचार खर्च बेहोर्छौँ



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री ढकालले भने : फ्रन्टलाइनमा खटिएका र जेष्ठ नागरिकको मात्रै उपचार खर्च बेहोर्छौँ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारका क्रममा आर्थिक रुपले विपन्न देखिए सरकारले नै खर्च बेहोर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले सबै नागरिको उपचार सरकारले नगर्ने निर्णय यथावत नै रहेको जानकारी दिए। उनले कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिएका, जेष्ठ नागरिक र आर्थिक रुपले विपन्नको मात्रै सरकारले उपचार गर्ने दोहोर्‍याए। उनले सबै नागरिकको जीवन रक्षाका लागि सरकार लागिरहेको बताए।

‘सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सरकार सदैव प्रतिबद्ध छ,’ उनले भने।

अक्सिजन तथा आवश्यक उपकरणको अभाव हुन नदिने गरी बन्दोबस्त गरिएको मन्त्री ढकालको दाबी छ। उनले २६ सय आइसीयू तयारी अवस्थामा रहेको र ४ सय बेड थप्न निर्माण कार्य भइरहेको जानकारी दिए।

३ हजार ५ सय हाइ डिपिडेन्सि युनिट थपिन थालेको ढकालको भनाइ छ। हरेक स्थानीय तहमा ५ बेड थपिने उनले जानकारी दिए। उनले देशभर ६ हजार २ सय २ बेड थप्न लागिएको बताएका छन्।

‘६ सय ४९ स्थानीय तहमा ५ बेडको तयारी भइरहेको छ। यसरी स्थानीय तहमा ३ हजार २ सय ४५ बेड हुनेछन्। ५८ अस्पताललाई ९ सय २२ बेड जिल्लामा र प्रदेश अस्पताललाई ५ सय बेडमा स्तरोन्नती गरी जम्मा ६ हजार २ सय २ बेड थप्ने कार्य सुरु भएको छ,’ उनले भने।

नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरिने ढकालको भनाइ छ। उनले मन्त्रिपरिषद्को  असोज १९ को निर्णयअनुसार नै संक्रमितको उपचार हुने बताए।

‘उल्लेखित वर्गमा परेकाको उपचारमा प्रत्याभुत गर्न आवश्यक भएकाले यो निर्णय लिएको हो,’ उनले भने।

बिरामीको उपचारमा विभेद नहुने गरी ब्यवस्था गरिएको ढकालले बताए। सरकार नागरिकको संवैधानिक हक र अदालतको फैसला प्रति संवेदनशिल रहेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell