PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने



पी बी खड्का

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित विरामीको उपचार निःशुल्क गर्ने भएको छ। कोरोनाको लक्षण देखिएका र अस्पताल भर्ना गुनपर्ने जटिल अवस्थाका संक्रमितहरुको उपचार प्रदेश सरकारले निःशुल्क गर्ने भएको हो।

सामाजिक विकास मन्त्री दल रावलका अनुसार कर्णालीका दश वटै जिल्लामा लागू गर्ने गरी तयारी भइरहेको बताए। अहिले मन्त्रालयले निःशुल्क उपचारका लागि गृहकार्य गरिरहेको उनले बताए।

‘कर्णालीको हकमा सिम्टोम्याटिक जो आउँछन्, जो सिरियस केसहरु हुन्छन् त्यसको उपचार निःशुल्क गर्छाैँ’, मन्त्री रावलले भने, ‘संवैधानिक अधिकार पनि हो, महामारीका बेला जनताको ज्यानको सुरक्षा गर्नु हाम्रो कर्तव्य पनि हो, दुखी, गरिब, विपन्न वर्ग भएको कर्णालीमा सिम्टोम्याटिक र जटिक केस भएका नागरिकको लागि हामी निःशुल्क उपचार गर्छाैँ।’

यद्यपी, मन्त्रिपरिषद्को बैठकले औपचारीक रुपमा निर्णय गर्ने उनको भनाइ छ। आधा भन्दा बढी गरिबीको दर रहेको कर्णालीमा महामारीका बेला पन्छिन नहुने उनको भनाइ छ। सबैले शुल्क तिरेर पीसीआर जाँच गर्न सक्ने अवस्था नरहेको उनको बुझाइ छ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त व्यक्तिबाहेक अन्य कोरोना संक्रमितको उपचार नगर्ने घोषणा गरेको थियो। सरकारको यो निर्णय पछि सर्वत्र आलोचना भइरहेको छ।

यस्तो छ कर्णालीमा संक्रमणको ट्रेन्ड

पछिल्लो एक साता कर्णालीमा कोरोना भाइरस संक्रमणको दर एकाएक उकालो लागेको छ। दैनिक १५ देखि ३० जनासम्म संक्रमितको पुष्टि हुने कर्णालीमा यो एक सातामा दैनिक एक सय देखि डेढ सयको नजिक पुष्टि भइरहेको छ।

जेठ ५ गते पहिलो संक्रमित पुष्टि भएको दैलेखमा संक्रमण पुष्टि हुनेको संख्या ओरोलो लागेको छ भने प्रदेशका दश जिल्लामध्ये सुर्खेत अग्रस्थानमा छ। डेढ महिनाअघिदेखि अन्य जिल्लालाई उछिनेर सुर्खेत निरन्तर संक्रमण पुटि हुने जिल्लामध्ये पहिलो बनेको छ।

हालसम्म ८३ हजार बढी नमुना स्वाब परीक्षण गरिएकोमा सबैभन्दा बढी असोजमै रहेका छन्। असोजसम्म चार हजार नौ सय बढी संक्रमितको पुष्टि भएको छ भने तीन हजार ६ सय बढी निको भएर डिस्चार्ज भएका छन्। हाल संक्रमण पुष्टि भएको सक्रिय संक्रमित एक हजार तीन सय पुगेको छ।

संक्रमितको ट्रेन्ड हेर्दा जेठको २२ गते एक सय १४ जनामा संक्रमण पुष्टि भएकोमा असारदेखि ओरोलो लागेको संक्रमणको दर साउनको चौथो साताबाट फेरि उकालो लागेको हो। साउन ३२ गते ६२ जनामा संक्रमण पुष्टि भएकोमा निरन्तर बढ्दै गएर असोज १ गते एक सय १४ जनामा संक्रमण पुष्टि भयो। असोज महिनाको अन्तिम साता सबैभन्दा बढी त्यसलाई पनि उछिनेर एक सय ३३ सम्म पुगेको छ।

संक्रमणको दरका हिसाबले सरदर दैनिक ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

‘संक्रमण पुष्टि हुने संख्या हेर्दा जोखिम कायमै रहेकाले सरकारको तर्फबाट तयारी गरिरहेका छौँ’, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले भने, ‘संक्रमितको दर बढ्दै गइरहेकाले थप स्वास्थ्य पूर्वाधार र सावधानीका लागि छलफल भइरहेको छ।’

पछिल्लो समय समुदायस्तरमा गइसकेको कोरोना भाइरस संक्रमण दिन प्रतिदिन फैलिने क्रममा छ। जसले गर्दा पनि संक्रमण पुष्टि हुनेको संख्या थपिएका हुन्। त्यत्तिमात्रै होइन संक्रमण पुष्टि भएकाहरु होमआइसोलेसनमा बस्दा समेत झन् जोखिम बढिरहेको छ।

‘संक्रमणको दर बढ्दै जाँदा पछिल्लो पटक पीसीआर परीक्षणको दायरा पनि बढाएका छौँ’, उनले भने, ‘चारैतिर खुलमखुल्ला भयो, कोरोना केही होइन भन्ने धेरैको सोचाई हुँदा र स्वास्थ्य सावधानी निकै कमजोर छ, त्यसैले पनि संक्रमणको दर बढेको देखिन्छ।’

२० देखि २९ वर्ष उमेर समूहका बढी संक्रमित

कर्णालीमा उमेरगत संक्रमितको संख्या हेर्दा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म यो उमेर समूहमा एक हजार आठ सय बढी छन् भने ३० देखि ३९ वर्षसम्मका एक हजार तीन सय बढीमा पुष्टि भएका छन्।

त्यस्तै, १० वर्षदेखि १९ वर्षसम्मका पाँच सय ९२ जना रहेका छन्। त्यस्तै, एक वर्षमुनिका १२ जना छन् भने ८० वर्षमाथिका ११ जना रहेका छन्। बाँकी संक्रमित अन्य उमेर समूहका भएको मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

त्यस्तै, संक्रमण पुष्टि हुनेमा ६० वर्ष माथिका तीन प्रतिशत छन् भने १० वर्षमुनिका चार प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

लैंगिक आधारमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी पुरुष छन्। जसमध्ये तीन हजार सात सय ७६ पुरुष छन्। यो संक्रमण पुष्टि भएको मध्ये ७६ प्रतिशत हो। जम्मा पुष्टि भएको संक्रमित संख्यामध्ये साढे ११ हजार महिला छन्। यो भनेको २४ प्रतिशत हो।

कोरोना महामारीमै पुग्यो ६२ आइसीयू र २६ भेन्टिलेटर

सामान्य सिटामोल नपाउने कर्णालीका दुर्गम जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश सरकारले गरेको लगानीले स्वास्थ्य क्षेत्रको पूर्वाधार सुधारोन्मुख देखिएको छ।

स्वास्थ्य संस्थाको भौतिक संरचनासँगै दश वटै जिल्लामा जटिल प्रकृतिको विरामी उपचारका नभई नहुने आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जस्ता पूर्वाधारको व्यवस्थापनमा कोरोनाले अवसर जुटाइदिएको छ। निर्देशनालयका अनुसार विभिन्न जिल्लामा गरी ६२ वटा (सघन उपचार कक्ष) आइसीयू तयारी अवस्थामा छन्।

प्रदेश अस्पताल, सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १०, दैलेख अस्पतालमा पाँच वटा रहेका छन्। यस्तै, जाजरकोट, सल्यान, रुकुमपश्चिममा दुई/दुई वटा, चौरजहारी अस्पताल चार, कालिकोट र हुम्लामा पाँच/पाँच, मुगुमा दुई वटा आइसीयू बेड रहेका छन्।

त्यस्तै, भेन्टिलेटरको संख्या २६ वटा रहेका छन्। प्रदेश अस्पताल सुर्खेतमा १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६, कालिकोट, हुम्ला र दैलेखमा दुई/दुई, जाजरकोट, सल्यान, रुकुमपश्चिममा एक/एक वटा भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्।

डोल्पामा पनि जडान गर्ने तयारी रहेकोमा कर्णालीमा कोरोना महामारी शुरु हुनु अघि सुर्खेत र जुम्ला गरी १७ आइसीयू र १० वटा भेन्टिलेटर मात्र थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell