PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूकम्पको पाँच वर्षपछि मौलिक स्वरूपमा तयार भयो रानीपोखरी, दरबार हाइस्कुलसँगै बुधबार उद्घाटन



सहयोग रञ्जित

भूकम्पको पाँच वर्षपछि मौलिक स्वरूपमा तयार भयो रानीपोखरी, दरबार हाइस्कुलसँगै बुधबार उद्घाटन

काठमाडौँः २०७२ सालको भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मध्याह्न करिब १२ बजे उद्घाटनको कार्यक्रम तय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

भूकम्पपछि राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्। तर भूकम्पपछि धेरै समय रानीपोखरी पुनर्निर्माण हुन सकेको थिएन। पुनर्निर्माण कसरी गर्ने भन्नेमा काठमाडौँ महानगर अल्झिँदा रानीपोखरी कुरूप बन्न पुगेको थियो। धेरै समयसम्म काम रोकिँदा राष्ट्रपति कार्यालयले यसमा चासो देखाएको थियो। साथै महानगरले कंक्रिटको प्रयोग गरी पोखरी पुनर्निर्माण गर्ने योजना ल्याएपछि स्थानीयले विरोध गरे। त्यसपछि सरकारले रानीपोखरी पुनर्निर्माणको काम प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।

प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको काम गरेको हो। जसमा भक्तपुरबाट दक्ष कालिगडहरूले पानी अड्याउने परम्परागत प्रविधिको प्रयोग गर्नै रानीपोखरी पुनर्निर्माण गरे। साथै पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरको काम भने ठेकेदारमार्फत गरिएको थियो।

अहिले निर्माण सम्पन्न भएको बालगोपालेश्वर मन्दिर अहिलेको पुस्ताले देखेकोभन्दा फरक शैलीको छ। पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झैँ ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग उठेको थियो। स्थानीयले मल्लकालीन शैलीमा नै मन्दिर बनाउनुपर्ने माग उठाएपछि प्राधिकरण र सरोकारवालाहरूको सहमतिमा रानीपोखरीले मौलिक स्वरूप पाएको हो।

हाल रानीपोखरीको सतहसम्मै पानी भरिएको छ। बाग्मती र आकाशे पानी गरी २ करोड लिटरभन्दा बढी पानी रानीपोखरीमा हालिएको छ। साथै पोखरीको चारैतिर, मन्दिर र पुलमा बत्ती राख्ने काम सकिएको छ।

दरबार हाइस्कुल पनि हुँदै उद्घाटन

राष्ट्रपति भण्डारीले रानीपोखरी उद्घाटन गरेपछि चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको दरबार हाइस्कुलको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको मानन्धरले बताए। २०७२ सालको भूकम्पले नै दरबार हाइस्कुलमा क्षति पुगेको थियो।

गत माघमै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो। चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई गत महिना विद्यालय भवनको साँचो हस्तान्तरण गरेका थिए।

उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको थियो।

बुधबार भने राष्ट्रपति भण्डारीले औपचारिक रूपमा दरबार हाइस्कुलको उद्घाटन गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell