पचली भैरवलाई थकु जुजुको घरबाट टेकुस्थित पचलीमा रहेको मन्दिर पुर्याइएको छ। कोरोना संक्रमणका कारण जात्रा हुने नहुने अन्यौलताबीच सुरक्षा सतर्कता अपनाएर पचली भैरवलाई मन्दिर पुर्याइएको हो। त्यसक्रममा भैरवलाई खटमा राखेर बोक्नेहरुले पीपीई र भाइजर लगाएका थिए। पहिला वर्ष झै यसपटक जात्राका क्रममा धेरै मानिस सहभागी भएनन्।
सामान्यतय राति हुने यो जात्रा यसपटक कोरोना संक्रमणका कारण दिउँसो नै गरिएको हो। मन्दिरमा पुर्याइएपछि पचली भैरवको विधिवत् पूजा गरि घ्याम्पोमा प्रसाद चढाइएको थियो। साँझ भने मन्दिर परिसरमा नै होम गरिएको छ।
घटस्थापनाको पा:ला: को घरबाट दिन कोहिटीमा रहेका पुं (चित्रकार) कहाँ मूर्ति लगिएको थियो। त्यहाँ मूर्तिलाई रंग्याउने काम भयो।
त्यसपछि चतुर्थीका दिन मूर्तिलाई मन्दिरमा लग्नुभन्दा अगाडी भीमसेनस्थानमा रहेको थकुजुजुको घरमा लगिएको थियो। त्यहाँ पूजा गरेर मूर्तिलाई कोहिटी, ह्युमत हुँदै मूर्तिलाई विधिपूर्व पचली भैरवको पीठमा मूर्ति पुर्याइन्छ र साइत हेरी मूर्ति प्रतिस्थापन गरिएको हो।
वर्षमा एक दिन मन्दिरमा ल्याइने पचली भैरवको दर्शनका लागि पूरै दिन पचलीमा दर्शनार्थीहरुका घुँइचो लाग्ने गर्छ। पचिमह्रका रुपमा मनाइने यस दिनमा त्यसक्षेत्रमा रहेका नेवार समुदायले भोज गर्छन्। तर यसपटक कोरोना संक्रमणका कारण यस दिन भीड नगर्न र भोज नगर्न आग्रह गरिएको छ।
दर्शनार्थीहरुले पचली भैरवको मूर्ति रहेको घ्याम्पोमा जाँड, फलफूल, अण्डा आदि चढाउने गर्छन्। चढाइएको प्रसादसहित राति पचली भैरवलाई टेकु, लगन, ज्या: बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्याइने गरिन्छ।
बुधवार पञ्चमीका दिन पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्याइने । त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइने परम्परा रहेको छ।
गत वर्ष गरिएको 'दृष्टि चुलाकेगु'
हनुमानढोका पुर्याइएपछि कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइन्छ। त्यसलाई स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ।
त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ। त्यसपछि पचली भैरवलाई पालाको घर लगिन्छ र एक वर्षसम्म भैरवलाई त्यही राखिन्छ।