PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जाडोमा कोभिड-१९ को महामारी बढ्ने भन्दै आवश्यक पूर्वतयारी गर्न प्रधानसेनापतिको निर्देशन



पहिलोपोस्ट

जाडोमा कोभिड-१९ को महामारी बढ्ने भन्दै आवश्यक पूर्वतयारी गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोभिड-१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुलाई आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका छन्।

तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन गर्दै प्रधानसेनापति थापाले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न पृतनाहरुलाई निर्देशन दिएका हुन्। उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र संक्रमितको हौसला कायम राख्न समेत निर्देशन दिएका छन्।

प्रधानसेनापति थापाले नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालिमा आधारित बनाउन थप बल पुर्‍याएको टिप्पणी गरे।

कात्तिक २ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको ‘पृतनापति समन्वयात्मक बैठक’ मंगलवार समापन भएको छ। बैठकमा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारीसम्बन्धी विषयहरुको कार्य प्रगतिको समीक्षा भएको थियो।

भर्चुअल रुपमा सहभागी पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड-१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरु सहितको प्रस्तुतिकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell