PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तस्करको र्‍याकेट तोड्न सक्रिय असईको 'योजनाबद्ध हत्या', परिवारलाई भनेका थिए, 'टर्चर छ, सरुवा मिलाउँदै छु'



एम बम

तस्करको र्‍याकेट तोड्न सक्रिय असईको 'योजनाबद्ध हत्या', परिवारलाई भनेका थिए, 'टर्चर छ, सरुवा मिलाउँदै छु'

कैलालीः गत बिहीबार भतिज नाता पर्ने हरि विकसँग उनको अन्तिम पटक फोनमा कुरा भयो। कुराकानीमा विगत दुई महिनादेखि सधैँको झैँ एउटै भनाइ दोहर्‍याए। ‘सरुवाको प्रक्रियामा छु तर मिलिसकेको छैन।’

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडाको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकले साथीभाइ र घरपरिवारसँग कुरा गर्दा सधैँ भन्ने गर्ने ‘मानसिक रूपमा टर्चर बढी भइरहेको छ। चाँडै सरुवा मिलाउन पाए हुन्थ्यो।’

‘घरमा आफ्नै संगठनको टर्चर होला भनेर खासै चासो राखिएन।’ उनका भतिज हरि भन्छन्, ‘तस्करहरूबाट असहज भइरहेको छ भन्ने बुझिएन। यता त थाहा थियो होला कसैबाट पहल भएन। त्यही टर्चरबाट मृत्युवरण को अवस्थामा पुग्नुपर्‍यो।’

उनी श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए। तर धनगढी उपमहानगरपालिका १० मा पर्ने गौरी कटानको वनकट्टी घाटमा अवैध तस्करी भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरी जवान रामबहादुर साउदलाई मोटरसाइकलमा लिएर विक त्यहाँ पुगेका थिए। श्रीमतीलाई फोनमा कोठा आउँछु भनेका उनी तस्करको पन्जाबाट सकुशल फर्किन पाएनन्।

अस्थायी प्रहरी पोस्टबाट साढे दुई किलोमिटर दक्षिण पश्चिम पुगेपछि उनले पाएको सूचना सही साबित भयो। तस्करहरूको समूहले गोरु गाडामा राखेर मटर (दाल) तस्करी गर्दै गर्दा उनले भेट्टाए। भारतको सुडा बजारसम्म पुर्‍याउनका लागि तयारी पारिएको मटर तस्करीको गिरोह उनको जालोमा त पर्‍यो तर तस्करीमा संलग्न तस्कर र सामान ल्याउन भने उनले पाएनन्।

दुई जना प्रहरीका अघि प्रोफेसनल तस्करको समूह बलियो देखियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने, ‘तस्करहरूसँग प्रहरीको झडप भएपछि उनीहरूले घरेलु हतियार प्रयोग गरी वीभत्स हत्या गरेको पाइयो।’

घटनास्थलको क्राइम सिनले पनि त्यही बताउँछ। सिमलको रुख नजिकैको उखुबारी। उखुका पातमा देखिएका रगतका छिटा, त्यहाँबाट ४ सय मिटर मोहना नदीसम्मको बाटोमा ठाउँ ठाउँमा चुहिएको रगत। मोबाइल र घडी फुटेका टुक्रा।

घटना विवरण सुनाउँदै विष्ट भन्छन्, ‘सुरुमा जवानको हत्या गरेर मोहना नदीमा गाडे त्यसपछि असईलाई मारेर नदीमा फाले।’

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई सार्वजनिक गरेको छ। उनीहरू लामो समयदेखि तस्करीमा संलग्न रहेको खुलेको छ।

प्रहरीले घटनामा मुख्य अभियुक्त खुलाउन भने सकेको छैन। केही व्यक्ति अझै फरार रहेको प्रहरीको अनुमान छ।

‘घटनामा उनीहरू कसको कस्तो भूमिका थियो त्यो खुल्न बाँकी छ,’ उनले भने।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई पक्राउ गरेको छ।

शनिबार बेपत्ता भएका असई विकको आइतबार बिहान मोहना नदीमा शव फेला परेको थियो भने सोही दिन उनी सवार मोटरसाइकल फेला परेको थियो। जवान साउदको शव, असईले बोक्ने पेस्तोल, प्रयोग गर्ने मोबाइल र घडी भने मंगलबार बिहान मोहना नदीमै फेला परेको थियो।

असई विकले विगत तीन महिनामा सो क्षेत्रमा हुने चोरी तस्करी रोक्न निकै सक्रिय भूमिका खेलेको समेत प्रहरीले जनाएको छ। उनलाई योजनाबद्ध ढङ्गबाट मारिएको हुनसक्ने प्रहरीको आशंका छ। १० जना प्रहरी कार्यरत रहेको उक्त अस्थायी पोस्टमा अहिले पाँच जनशक्ति थप गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell