PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सुरक्षा गार्डबाट कमान्डरले मागे दशैं खर्च, नदिने ३ जनालाई काममा आउन रोक!



राधेश्याम पटेल

सुरक्षा गार्डबाट कमान्डरले मागे दशैं खर्च, नदिने ३ जनालाई काममा आउन रोक!

वीरगंज : वीरगंज पथलैया औद्योगिक कोरिडोरको नितनपुरमा रहेको भगवती स्टिल इन्ड्रष्टिज प्रालिमा कमिसन खाएर सुरक्षागार्ड राख्ने गरिएको घटना सार्वजनिक भएको छ।

असोजको तलबबाट त्यहाँ काम गर्ने सुरक्षागार्डबाट ३-३ हजार दशैं खर्च कमिसन माग्ने गरिएको र सो रकम नदिँदा ३ जना गार्डलाई निकालिएको छ। उद्योगमा सुरक्षा प्रदान गर्ने गरुड सेक्युरेटी प्रालिमार्फत ड्युटीमा खटिएका सुरक्षागार्डले यस्तो गुनासो गरेका हुन्।

बारा निजगढका अशोककुमार तिमिल्सीना, कान्छा जिटेल र सुरेश महतोलाई काममा रोक लगाइएको नेकपा निकट अखिल नेपाल सेक्युरेटी मजदुर संघ प्रदेश २ का अध्यक्ष शम्भुप्रसाद कुर्मीले दाबी गरे।

सेक्युरिटी कम्पनीबाट उक्त उद्योगमा कार्यरत कमाण्डर केशवराज बोहराले उद्योगका प्रशासकीय अधिकृत धर्मेन्द्र लाल कर्णले कमिसन माग गरेको भनी गार्ड कमान्डरले कमिसन असुल्न उर्दी जारी गरेको गार्डहरुले बताएका छन्। उद्योगको व्यवस्थापन पक्ष र सेक्युरिटी कम्पनीबीच थप दुई वर्ष सम्झौता म्याद थपिएकोले प्रशासकीय अधिकृत कर्णले उक्त रकम दशैं खर्चको रुपमा माग गरेको बताइएको  छ।  यस विषयमा प्रशासकीय अधिकृतसँग बुझ्दा उनले आफूले त्यस्तो कुनै किसिमको कमिसन वा पैसा असुल्न नभनेको उनको नाम बदनाम गराउने सुरक्षागार्डका कमाण्डरलाई कारवाही गर्ने चेतावनी दिँदै ड्युटीबाट निकालिएका ३ जना सुरक्षागार्डको हकमा वार्ता गरी काममा फर्काउने आश्वासन दिए। यसैबीच सेक्युरिटी मजदुर संघका प्रतिनिधिहरुबीच उद्योगमा भएको छलफलमा गार्ड कमान्डर बोहराले दशैं मनाउन भोजभतेर गर्नको लागि पैसा माग गरेको स्वीकार गरेको बताइएको छ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल संचालक रहेको उक्त उद्योगले फलामजन्य निर्माण सामग्रीहरु उत्पादन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell