PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पछिल्लो दुई साताको कोभिड-१९ संक्रमण ग्राफ : झन्डै आधा लाखमा पुष्टि, २०२ जनाको मृत्यु



विधुर ढकाल

पछिल्लो दुई साताको कोभिड-१९ संक्रमण ग्राफ : झन्डै आधा लाखमा पुष्टि, २०२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो दुई सातामा मात्र नेपालमा झण्डै आधा लाख जनसंख्यामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। असोज २१ गतेदेखि कात्तिक ४ गतेसम्मको तथ्यांकअनुसार कुल ४८ हजार ३१५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म नेपालमा एक लाख ३९ हजार १२९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये एक तिहाई भन्दा बढीमा पछिल्लो दुई सातामा मात्र संक्रमण पुष्टि भएको हो। यो दुई सातामा कुल संक्रमितको ३४.७२ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्‍य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

औसतमा परीक्षण गरिएका ४.४४ जनामध्ये १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको यो दुई साताको तथ्यांकले देखाउँछ। पछिल्लो दुई सातामा दुई लाख १४ हजार ७७९ जनाको कोभिड-१९ को परीक्षण भएको छ। जसमध्ये २२.४९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो दुई सातामा दैनिक औसतमा १५ हजार ३४१.४ जनाको कोभिड-१९ को संक्रमण परीक्षण भइरहेको छ। जसमध्ये दैनिक औसतमा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भइरहेको छ।

हालसम्म नेपालमा १३ लाख १४ हजार ७७९ जनाको आरटी-पीसीआर विधिबाट कोभिड-१९ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो दुई सातामा मात्र कुल परीक्षणको १६.३३ प्रतिशत परीक्षण भएको छ।

२०२ जनाको मृत्यु

यही दुई सातामा २०२ जना कोभिड-१९का संक्रमितहरु मृत्यु भएको छ। जुन कुल मृत्युको २६.४ प्रतिशत हो। यो दुई सातामा दैनिक औसतमा १४.४२ जनाको मृत्यु भइरहेको छ। स्वास्थ्य तथा जनसखंख्या मन्त्रालयको तथ्यांकअनुसार असोज २५ गते सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ। जुन मन्त्रालयले पुष्टि गरेको दैनिक मृत्युमा हालसम्मकै उच्च हो।

त्यस्तै सबैभन्दा कम कातिक ४ गते ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन कुल संक्रमितको ०.५ प्रतिशत हो।

२९ हजार ९२ डिस्चार्ज

यही दुई साताको अवधिमा २९ हजार ९२ जना कोभिड-१९ का संक्रमित संक्रमण मुक्त भएका छन्। पछिल्लो दुई साताको तथ्यांक हेर्दा औसतमा दैनिक दुई हजार ७८ जनाको डिस्चार्ज भइरहेको छ। जुन कुल संक्रमण मुक्त हुनेको ३०.११ प्रतिशत हो। हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९६ हजार ६०९ जना संक्रमण मुक्त भइसकेका छन्। जुन कुल संक्रमितको ६९.४ प्रतिशत हो।

त्यस्तै हाल कुल संक्रमितमध्ये ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्। जुन कुल संक्रमितको ३०.१ प्रतिशत हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell