PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दशैंमा घर फर्किने घटे : दैनिक औसत २२ हजार जनाले काठमाडौं उपत्यका छोड्दा, भित्रिने १५ हजार



पहिलोपोस्ट

दशैंमा घर फर्किने घटे : दैनिक औसत २२ हजार जनाले काठमाडौं उपत्यका छोड्दा, भित्रिने १५ हजार

काठमाडौं : सामान्य अवस्था भएको भए यतिखेर काठमाडौं उपत्यकाबाट घर फर्किने मानिसको लर्को हुन्थ्यो। अग्रिम बुकिङ खुलेका टिकट काउन्टर र बसमा मानिसको भिडभाड। तर कोभिड १९ सङ्क्रमणको कारण यसपटकको दसैँ सुनसान छ।

काठमाडौं उपत्यका छोड्ने मानिसको सङ्ख्या पनि पहिलेको दशैको तुलनामा झन्डै १ चौथाइ पनि छैन। गएका वर्षका दशैंमा सप्तमीभन्दा दुई दिनअघि करिव १ लाख मानिसले उपत्यका छोड्थे। शुक्रवार फूलपाती तर घर फर्किने मानिसको सङ्ख्या भने कम देखिन्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार कार्तिक १ गतेदेखि दैनिक २३ हजार मानिसले मात्र काठमाडौं उपत्यका छोडेका छन्। कार्तिक १ गते २१ हजार ४ सय ७९ जना मानिस काठमाडौं नाकाबाट बाहिर गएको देखिन्छ। सो समयमा ४ हजार ७ सय २१ वटा सवारी साधन बाहिरिएका छन्।

कार्तिक २ गते २३ हजार ३ सय ९२ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। दुई र चार पाङ्ग्रे गरेर ४ हजार ६ सय ५८ वटा सवारी बाहिरिएका छन्। कार्तिक ३ गते ४ हजार ७ सय १९ वटा सवारी साधन बाहिरे। सामान्य समय भएको भए यो सङ्ख्या १२ हजार माथि हुन्थ्यो। तर सङ्क्रमणको कारण त्यसो भएन यो पटक। यो अवधिमा २३ हजार ८ सय ३६ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्।

कार्तिक ४ गते अर्थात् मङ्गलवार काठमाडौँबाट बाहिरिने मानिसको सङ्ख्यामा कमी देखियो। २२ हजार  २ सय ९९ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। ४ हजार ४ सय ७८ सवारी साधन बाहिरिए।

यो अवधिमा काठमाडौं उपत्यका भित्रिने मानिसको सङ्ख्या पनि झन्डै बाहिरिने जतिकै देखिन्छ। मङ्गलवार १४ हजार ९ सय ७१ जना मानिस काठमाडौं उपत्यकाभित्र प्रवेश गरेका छन्। यसअघिका अघिल्ला तीन दिनमा ‌औषत १६ हजार मानिस काठमाडौं आएका हुन्।

त्यसो त चैत ११ गतेबाट सरकारले देशभर लकडाउन घोषणा गरेपछि नै मानिस काठमाडौं छोड्ने गरेकाले पनि यो पटकको दशैंमा गाउँ फर्किनेको सङ्ख्यामा कमी आएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ।

सरकारले लामो दुरीका सवारी साधनलाई असोज १ गतेबाट सञ्चालन गर्न दिएदेखि हालसम्म काठमाडौं उपत्यकाबाट ६ लाख ७० हजार ८१ जना मानिसले काठमाडौं छोडेको प्रहरीको तथ्याङ्कले देखाउँछ। यो अवधिमा १ लाख ५२ हजार ९सय ३८ वटा सवारी साधन बाहिरिएका छन्। त्यस्तै एउटै समयमा उपत्यकाभित्रिने मानिसको सङ्ख्या ६ लाख २० हजार ८९ रहेको छ। १ लाख ५३ हजार ७ सय १० सवारी बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell