PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा कञ्चनपुरका एक युवकको मृत्यु



रासस

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा कञ्चनपुरका एक युवकको मृत्यु

नेपालगञ्ज : बाँकेमा बुधवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट कञ्चनपुर बेलाडी-५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए। उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो। कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो।

त्यसैदिन उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ। कोरोना पोजिटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको श्रेष्ठले बताए। बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

यसैबीच, बाँकेमा बुधवार नै ५२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ३१ पुरुष र २१ महिला कोरोनामुक्त भई घर फर्केका हुन्। यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या दुई हजार २२७ पुगेको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell