फुङ्लिङ : ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक बुधवारदेखि उडान शुरु गरेको छ। कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो।
नेपाल एयरलाइन्स ताप्लेजुङका स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौंदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङ सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए। यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले बुधवार सीमित यात्रु ल्याएको हो।
काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंको भाडा ६ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ।