PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जुवामा २ लाख २७ हजार रुपैयाँ हारेपछि लुटिएको नाटक !



पहिलोपोस्ट

जुवामा २ लाख २७ हजार रुपैयाँ हारेपछि लुटिएको नाटक !

काठमाडौं : बुधवार राति ८ बजेतिर प्रहरीको सय नम्बरमा एउटा फोन आयो।

फोनमा एक जना पुरुषले आफ्नो पैसा लुटिएको जानकारी दिए। ट्रक चालक समेत रहेका उनले रातिको समयमा केही युवाले ट्रक रोकेर पैसा लुटेको जानकारी गराए। लुटिएको अमाउन्ट पनि धेरै थियो - २ लाख २७ हजार रुपैयाँ।

प्रहरीले राति नै टोली लुटेराको खोजी थाल्यो। महानगरीय प्रहरी परिसर भक्तपुर र लोकल प्रहरी समेत खटिए।

पीडित पुरुषले दिएको जानकारी, विभिन्न टेक्निकल पक्षहरु केलाएर प्रहरीको अप्रेसन अघि बढ्यो। लुटिएको घटनास्थलमा समेत प्रहरी पुगेर अनुसन्धान गर्‍यो। तर, कुनै प्रमाण हात परेन। घटना भक्तपुरको तेलकोटमा भएको पीडित पुरुषले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले घटनास्थल नजिकै रहेका स्थानीय र अन्य मानिससँग पनि सोधपुछ गर्‍यो। तर, केही हात परेन।

त्यसपछि प्रहरीको अनुसन्धान अर्को तर्फ मोडियो। अन्ततः लुटिएका भन्ने व्यक्ति नै प्रहरीको अनुसन्धानको घेरामा परे। प्रहरीले लुटिए भन्दै उजुरी दिने युवकलाई नियन्त्रणमा लियो।

त्यसपछि सोधपुछ गर्दै गर्दा एउटा रहस्य खुल्यो- आखिर पैसा लुटिएकै रहेनछ। ती युवकले लुटिएको नाटक मात्र गरेका रहेछन्।

'हाम्रो ठूलै टोली परिचालन गरिएको थियो। प्रहरी जनशक्तिको दुरुपयोग गरियो। आखिर घटना भएकै रहेन छ,' महानगरीय प्रहरी परिसर भक्तपुर एसपी तारादेवी थापाले भनिन्।

जुवामा हारेपछि लुटिएको नाटक !

ती युवक अहिले प्रहरी हिरासतमा छन्। राति उनले जुवामा पैसा हारेपछि घर परिवारसँगको डरका कारण लुटिएको नाटक गरेको खुलेको छ। राति अप्रेसनकै क्रममा स्थानीय र अन्य मानिसको जानकारी पाएपछि प्रहरीले ती युवकलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

'जुवामा धेरै पैसा हारेपछि आफन्तले कराउँछन् भनेर लुटिएको देखाउन प्रहरीलाई खबर गरेको देखिन्छ,' एसपी थापाले भनिन्।

यस्ता धेरै घटनाहरु भएका छन्। जसले झुटो उजुरी दिएर प्रहरीलाई झुक्कायउने गरेका छन्। ऋणमा डुवेपछि अपहरण नाटक, जुवामा हारेपछि लुटिएको उजुरी लगायतका घटना धेरै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell