PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण महानगरकै अवधारणा अनुरुप : मेयर शाक्य



पहिलोपोस्ट

रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण महानगरकै अवधारणा अनुरुप : मेयर शाक्य

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताएका छन्।

‘रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए। तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ,’ महानगरको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले भने, ‘महानगरको जिम्मेवारीभित्र रहेका यी दुइटा ऐतिहासिक सम्पदा विभिन्न खाले विवादका बीचमा पनि महानगरपालिकाको अवधारण अनुसार नै पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भएका छन्।’

२०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बीचमा विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार उनले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ।

‘रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको छ, यसमा म आफैँ पनि धेरै खुसी छु,’ शाक्यले भने, ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए। ९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए। तर, हामीले संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रताप मल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ।’

जनप्रतिनिधि आउनु अघि नै रानीपोखरी पुनःनिर्माणको काम सुरु भएको पनि उनले स्मरण गराए। ‘केही सम्पदाविद् र पुरातत्व विभागले भूकम्पले क्षति पुग्नु पूर्व जस्तो स्वरुपको थियो त्यस्तै स्वरुपमा अर्थात गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्नुपर्छ भन्ने अडान राखेका थिए,’ शाक्यले भने, ‘तर, हामीले शिखर शैलीमै बनाउनुपर्छ भनेर अडान लियौँ। हामी अडानबाट पछि हटेनौँ। अहिले हामीले भनेकै शैलीमा पुनःनिर्माण सम्पन्न भयो।’

प्रमुख शाक्यले रानीपोखरी पुनः निर्माणकै विषयलाई लिएर त्यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटक–पटक सल्लाह मागेको स्मरण गराए। प्रधानमन्त्रीसँग सल्लाह हुँदा उनले पनि रानीपोखरी पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिऔँ, पुनःनिर्माण सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकालाई नै हस्तान्तरण गरौँला भनेपछि सहमति जनाएको हो। ‘रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएपछि महानगरपालिकालाई नै हस्तान्तरण गर्ने सर्तसहित प्रधानमन्त्रीज्युको सल्लाहमै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएका हौँ,’ शाक्यले भने, ‘ रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ। त्योसँगै काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ।’

शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिए। ‘केहीले पहिला जस्तो छ त्यस्तै दुई तलाकै बनाउनुपर्छ भन्दै आएका थिए,’ शाक्यले भने, ‘सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन्। त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ। त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ। हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महशुस भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell