कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप एक/एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
धनगढी उपमहानगरपालिका-१२ स्थित नेपाल-भारत सीमा क्षेत्रमा नियमित गस्तीमा रहेका प्रसनि विक र प्रज साउदको यही कात्तिक १ गते राति तस्करको समूहले हत्या गरेको थियो। कञ्चनपुरका प्रसनि विक र अछामका प्रज साउद धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए।
मृतक प्रहरीको शव सीमा क्षेत्रको मोहना नदीमा फेला परेको थियो। प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका-१० का सात जनालाई पक्राउ गरेको छ।