काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट १५ हजार २५५ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यो २४ घण्टामा औषतमा हरेक ४.२ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको देखिन्छ।
संक्रमण पुष्टि भएका मध्ये ४२.६७ प्रतिशत काठमाडौं उपत्यकाका रहेका छन्। काठमाडौं जिल्लामा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी उपत्यकामा एक हजार ५५२ जना संक्रमित पहिचान भएका हुन्।
पछिल्लो २४ घण्टामा तीन हजार ६३७ संक्रमित पहिचान भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा एक लाख दुई हजार ८२० जना संक्रमण मुक्त भइसकेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा मात्र थप २१ जना संक्रमितको मृत्युलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ८१२ पुगेको छ।
हाल नेपालमा ४४ हजार ८७७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
