PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति देउवाको आग्रह



रासस

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र संक्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन्।

सभापति देउवाले बिहीवार एक विज्ञप्तिमार्फत कोरोनाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन्।

उनले कोभिड-१९ को परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरे।

‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक हो। सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले कोरोना संक्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। साथै सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell