काठमाडौं : बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको बिहीवार मृत्यु भएको छ।
कञ्चन गाउँपालिका-३ की ४८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना संक्रमणबाट नेपाली कांग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ। उहाँमा यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमणपछि होम आइसोलेसनमा रहेका उनको बिहीवार मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए।
यसैबीच, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको बिहीवार उपचारका क्रममा मृत्यु भएको हो। उनलाई उच्च रक्तचापको पनि समस्या थियो।
उनलाई गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।