अमृत शाही। २ वर्ष अघिसम्म यो नाम सामाजिक सञ्जालमा खुब सक्रिय नाम थियो। तर दुई वर्षयता भने उनको सामाजिक सञ्जालले विश्राम पाएको छ। किनीकी उनको सामाजिक सञ्जाललाई जस्तो अहिले उनलाई विश्रान्ति छैन। त्यो समयलाई अहिले उनले इलममा लगाएका छन्।
विसं ३०३७ मा डोटीमा जन्मेका शाही २०६८ सालमा कतार पुगे। त्यति बेला लहलहैमा लागेर विदेश पुग्नेहरूको लहरै चलेको थियो। लहरको लहरोले उनलाई पनि तान्यो। सिंगापुरीयन कम्पनीमा काम पाइन्छ र पछि उतैबाट सिंगापुर जान पाइन्छ भन्ने सुनेर कतार पुगेका शाहीलाई त्यहाँको वास्तविकता बुझेपछि भने पछुतो लाग्यो।
नलागोस् पनि किन? उनले धनगढीमा १० लाख लगानीमा जुरमुराउँदै गरेको पोल्ट्री फर्म छोडेर कतार पुगेका थिए। पछुतो लागे पनि श्रमिक भिसामा कतार पुगेका उनीसँग अरू उपाय पनि केही थिएन। अनि केही वर्ष यतै बस्नुपर्छ भन्ने सोचे।
कतारमा बस्दै गर्दा नेपालीहरूको परिश्रम, पीडा, परदेशको अनुभूति महसुस गर्दा उनलाई सामाजिक अभियान सञ्चालन गर्नुपर्छ भन्ने हुटहुटी चल्यो। अनि उनले झन्डै १७ भन्दा बढी देशमा फैलिएको प्रवासी सुदूर पश्चिमेलीहरूको सङ्गठन सुदूर पश्चिमेली समाज कतारको कार्यसमिति गठन गरे।
‘विदेशमा कति अप्ठेरो हुन्छ भन्ने कुरा त्यहाँ गएका नेपालीहरूको शव नेपाल ल्याउने समयमा बुझिन्छ,’ उनी भन्छन्, ‘मानिस चिनिने भनेको मर्दा र पर्दा हो भन्ने गर्छन्, हो रहेछ। कतारमा कुनै नेपालीको मृत्यु भयो भने शव नेपाल ल्याउन न कम्पनीले हेर्छ न दूतावासले नै। सबैभन्दा असहज काम भनेकै त्यही हो। यतिसम्म की बिरामी पर्दा बिदा मागियो भने बिहान मागेको बिदा बेलुकासम्म पनि स्वीकृत हुन्न अनि स्वेच्छाले काम छोड्नुर्यो भने राम्रो कम्पनीले तीन महिनामा स्वीकृत गर्छ नत्र नगर्न पनि सक्छ। हामीले यसै कुराबाट विदेशको पीडा बुझ्न सक्छौँ।’
यही समस्यालाई लिएर उनले सुदूर पश्चिमेली समाज कतार शाखा गठन गरे। किनकि त्यहाँ दूतावासले सुन्ने भनेकै उसको सूचीमा सूचीकृत संस्थाका प्रतिनिधिको भनाईमात्र हो।
अनि उनले सात वर्षसम्म कतारमा रहँदा दर्जनौँ अलपत्र परेका नेपालीको उद्धार, शव नेपाल पठाउने कामको अगुवाइसँगै ‘गाउँ फर्कौँ महाअभियान’ को अगुवाइ गरे। र २०७५ सालमा उनी पनि स्वदेश फर्किए।
कतारमा बसेर गाउँ फर्कौँ महा अभियान चलाएका शाहीले अहिले नेपालमै बसौँ अभियान चलाउँदै छन्। विदेशबाट फर्किएपछि स्वदेशमा कुनै व्यवसाय गरेर बस्नुपर्छ र केही युवाहरूलाई सङ्गठित पारेर रोजगारीका अवसर सिर्जना हुने काम गर्नुपर्छ भन्ने सोचेका शाही नेपाल फर्किएपछि सुरुमा सोचेजस्तो भने भएन।
२०७५ सालदेखि ७६ को भदौसम्म झन्डै एक वर्ष उनले व्यवसाय गर्ने योजनासहितका कागजात राखिएको झोला बोकेर धनगढीका प्रत्येक बैंक चहारे। उनलाई केही लगानी जुटाएर काम गर्नु थियो। तर त्यो अभ्यासमा उनी विफल भए। अन्तत: फेरि कतार जाने की यतै बस्ने भन्ने द्विविधामा परे। कतार जाने योजना बुनिसकेका उनलाई एकाएक व्यक्तिगत ऋण लिएर भए पनि यतै केही गर्नुपर्छ भन्ने सुर चल्यो।
भदौ मसान्तबाट आफन्त छरछिमेकलाई मागेर साढे २ बिघा जमिनमा कृषि पेसा सँगै, बाख्रा र कुखुरा पालन गर्ने भनेर झन्डै ३० लाख लगानी जोहो गरे।
अहिले उनी कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ मङ्गलपुर चौराहाबाट झन्डै एक किलोमिटर दक्षिणमा रोयल रिटर्नी एग्रीकल्चर प्रालि सञ्चालन गरेर बसिरहेका छन्। उनले साढे दुई बिघा जमिनमा कागती खेती, एक सय बाख्रा पालन, साढे चार हजार ब्रोइलर तथा एक सय लोकल कुखुरापालन सुरु गरिसकेका छन्।
त्यहाँ अन्य दुई जनालाई रोजगार दिएर कतारमा कमाउने जति कमाइ यही बसेर बचत गर्छन्।
यति मात्रै होइन उनले विदेशबाट फर्केपछि रिटर्नी माइग्रेट नेपाल नामक संस्थालाई सुदूरपश्चिममा औपचारिकता दिएर महासचिवको जिम्मेवारीमा छन्। अब विदेश जानुहुन्न भनेर युवाहरूलाई स्वदेशमै स्वावलम्बी बनाउने योजना अन्तर्गत उक्त संस्थामा सुदूरपश्चिमका ५ हजार युवा आवद्ध छन्। ‘बैतडी र दार्चुलाबाहेक सबै जिल्लामा जिल्ला स्तरीय समितिसमेत गठन भइसकेका छन्,’ उनी भन्छन्।
‘नेपालमा राज्य स्तरबाट भइरहेको बेवास्ताले धेरै युवाहरू विदेसिन बाध्य छन्। त्यसैले केन्द्रस्तरमा राज्यले युवाहरूका लागि स्पष्ट नीति बनाओस् त्यसको व्यवहारिक कार्यान्वयन लागि स्थानीय तह जागे भने विदेश जान एयरपोर्टमा लाग्ने युवाहरूको लाइन स्वदेशमा काम गर्न लाग्ने थियो,’ उनी सुनाउँछन्।
‘यदि ५ हजारमात्रै कमाइलाई हामी स्वदेशमा मासिक बचत गर्न सक्छौँ भने, श्रमिक भिसामा वैदेशिक रोजगारमा नजाऔँ। किनकि विदेशमै मृत्युवरण गरियो भने पनि न त आमाबुबाले हाम्रो शव हेर्न पाउँछन्, त घरमा कसैलाई केही भए हामीले उनीहरूको मुख देख्न पाउँछौँ।’ त्यसैले उनी भन्छन्, ‘सीप विना विदेश जानु भनेको बलेको अगेनोमा दाउरा झोसे जस्तै दुखको अगेनोमा जिन्दगी झोस्नु हो।’