PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

ओली प्रचण्डबाट पार नलागेको कर्णालीको नेकपा विवाद आज बस्ने दलको बैठकबाट लाग्ला त टुंगो?



पी बी खड्का

ओली प्रचण्डबाट पार नलागेको कर्णालीको नेकपा विवाद आज बस्ने दलको बैठकबाट लाग्ला त टुंगो?

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलभित्रको विवाद फेरि कर्णालीमै आइपुगेको छ। केन्द्रीय नेतृत्वले छिनोफानो गर्ने गरि काठमाण्डौँ पुगेको विवाद कर्णालीमा फर्किएपछि अब कर्णालीमै टुंगो लाग्ने छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, र वरिष्ठ नेता माधव नेपाल खेमामा विभाजित कर्णालीको सत्तारुढ दलभित्र सत्ता हत्याउन हानथाप हुदाँ विवाद काठमाडौं पुगेको थियो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको अध्यक्ष ओली पक्षरलाई नै बाइपास गरेर असोज २७ गते अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीचको समीकरण बन्यो। सोही समीकरणले कर्णालीको विवाद साम्य हुने तरखरमा हुदाँ अध्यक्ष ओलीले अध्यक्ष दाहाल र नेता नेपालबीचको समीकरण भत्काउन काठमाडौं बोलावट भएको थियो। असोज २९ गते काठमाडौं गएका कर्णालीका नेताहरुमध्ये ओली पक्षधरका केही नेता अझै काठमाडौंमै छन् भने, प्रचण्ड र नेता नेपाल पक्षधरका नेताहरु सुर्खेत फर्किसकेका छन्। केन्द्रीय नेतृत्वले टुंगो लगाउने गरी काठमाडौं बोलाए पनि कुनै निष्कर्ष र टुंगो नलागेपछि अध्यक्ष दाहाल र नेता नेपालबीचकै समीकरणमा आज  (शुक्रवार) कर्णालीमा संसदीय दलको बैठक बस्दै छ।

मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्ताव आएपछि नियुक्त गरिएकी प्रमुख सचेतक सीताकुमारी नेपालीले शुक्रवार (आज) दलको बैठक आह्वान गरेकी थिइन्। उनका अनुसार दलको बैठक शुक्रवार नै बस्ने दावी छ।

‘दलको बैठक नबस्ने भन्ने कुरै हुदैँन्, मैले उति बेलानै (असोज २६ गते) सबै माननीयज्यूहरुलाई पत्राचार गरिसकेको हो,’ उनले भनिन्,‘सोही कार्यतालिका अनुसार आज विहान ११ बजे दलको बैठक बस्छ। सबै माननीयज्यूहरु आइसक्नुभाछ।’

केन्द्रीय नेतृत्वले बोलाएर काठमाडौं पुगेको अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षधरका सांसद सबै बैठकका लागि वीरेन्द्रनगर पुगिसकेका छन्।

नेतृत्व तहले विवाद मिलाउन बोलाए पनि समाधान नभएपछि अब दलको बैठकबाटै विवाद समाधान हुने उनले बताइन्।

‘सम्भवत आजै (शुक्रवार) बस्ने दलको बैठकबाट टुंगो लगाउने गरी छलफल र बहस भईरहेको छ,’ उनले भनिन्।

तर, अध्यक्ष ओली पक्षधरका केही सांसद काठमाडौंमै छन् भने, सुर्खेतमै भएका सांसद पनि उपस्थित नहुने भएका छन्।

मुख्यमन्त्री शाही पक्षले डाकेको दलको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक यामलाल कंडेल पक्ष अनुपस्थित हुनेछन्।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट बर्खास्त गरेका सांसद गुलावजंग शाहले कुनै पनि हालतमा दलको बैठक बस्न नसक्ने तर्क गर्छन्। ‘आज (शुक्रवार) दलको बैठक कसरी बस्छ? केन्द्रीय नेतृत्वले सवै प्रक्रिया यथावत राखेर काठमाडौं आउनु भनेको अवस्थामा, दुवै जना अध्यक्षहरु समस्या समाधानका लागि छलफल गरिरहेको अवस्थामा उहाँहरुले (मुख्यमन्त्री शाही पक्ष) कसरी दलको बैठक राखेर समाधान गर्नुहुन्छ,’ शाहले भने,‘अविश्वासको प्रस्ताव आईसकेपछि मुख्यमन्त्री दलको नेताको हैसियतमै हनुहुन्न, निलम्बीत जस्तै हो। उहाँले (मुख्यमन्त्री) नियुक्त गरेको प्रमुख सचेतकले आह्वान गरेको दलको बैठक विधि र प्रक्रिया अनुसार वैधानीक हुनै सक्दैन।’

सांसद कंडेल पक्ष निकट शाहका अनुसार मुख्यमन्त्री शाही पक्षले बोलाएको दलको बैठकमा सहभागी नहुने संकेत गरेका छन्।

यसअघि मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल पक्षका सात सांसद ब्याक हुदाँ मुख्यमन्त्री शाहीले हटाएका प्रमुख सचेतक शाहले असोज २७ गते आह्वान गरेको दलको बैठक अल्पमतमा परेपछि बस्न सकेको थिएन्।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सचेतक र मन्त्रिमण्डल भागबण्डामा समीकरण बनेको छ।

आज बोलाएको दलको बैठकमा अध्यक्ष दाहाल र नेता नेपालवीचको समीकरण नतोडिए अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत हुने पक्का देखिन्छ।

असोज २५ गते मुख्यमन्त्रीका आकांक्षी यामलाल कंडेलको नेतृत्वमा सत्तारुढ दलभित्रकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell