PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेकपा पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप, गयो वडाध्यक्ष उम्मेदवार मुकेशको ज्यान



राधेश्याम पटेल

नेकपा पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप, गयो वडाध्यक्ष उम्मेदवार मुकेशको ज्यान

वीरगंज : नेकपा पर्सामा अहिले विवाद उत्कर्षमा पुगेको छ। नेकपाभित्रको तत्कालिन माओवादी र एमाले नेता कार्याकर्ताहरुको विवाद सतहमा छताछुल्ल भएको हो।

पर्साको १४ वटा स्थानीय तहमा दुबै समूहको गुटउपगुट राजनीति तथा एकले अर्कालाई दबाउने चलखेल भइरहेको छ। यसैको कारण पर्सामा एक जना नेकपाको कार्याकर्ताको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया रहेका छन्। उनको आज बिहान ९ बजेको समयमा वीरगंज पानीट्यांकीस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए।

बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए। झडपमा लाठीले हानेर उनलाई घाइते बनाइएको थियो। नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ। झडपमा परी ८ जना घाइते भएकोमा ७ जना उपचार गराएर घर फर्किसकेका थिए भने चौरसियाको टाउकोमा गम्भीर चोट लागेर उच्च रक्तश्राव भएको थियो। उनलाई आर्यसीयूमा राखेर उपचार भइरहेको हुदाँ आज बिहान मृत्यु भएको हो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको थियो। आजै कुटपिट गर्ने स्थानीय देवासहनी, सोखद्दीन अनसारी र हनिफ मियालाई पनि नियन्त्रणमा लिएको छ। तीनै जना नेकपाका कर्याकर्ता हुन्। घटनालाई  अनुसन्धान गरी ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको अशंकामा पर्सा क्षेत्र नं ३ मा तत्कालिन एमालेबाट प्रथम संविधान सभामा निर्वाचित राजकुमार गुप्तालाई पनि पर्सा प्रहरीले बोलाएर सोधपुछ गरेको थियो। घटना विकराल रुप लिदाँ पर्साकी एसपी गंगा पन्तले उनलाई फोन गरेकी थिइन्। त्यसपछि प्रहरी टोली गएर उनलाई पैदल जिल्ला प्रहरी  कार्यालय ल्याइएको थियो। साँझ उनी घर फर्केका थिए। यो घटनालाई समाजिक सञ्जालमा उनलाई पक्राउ गरिएको अडकलबाजी भइरहदाँ पर्सा प्रहरीले उनी आफ्नै जिल्ला प्रहरीमा आएको र आफै घर फर्केको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell