काठमाडौंः यसपटकको दशैंमा काठमाडौं उपत्यकाबाट घर फर्किने मानिसको सङ्ख्यामा निकै कमी देखिएको छ। कोभिड १९ सङ्क्रमणको कारण सप्तमीको अघिल्लो दिन अर्थात् बिहीबार पनि खासै घर फर्किने मानिसको सङ्ख्यामा वृद्धि भएन। दुई चारदिनको तुलनामा बिहिवार भने बसपार्कमा केही बढी यात्रु भने देखिएका थिए।
बिहीबार काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट २६ हजार ५४६ जना मानिसले उपत्यका छोडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। यसअघिका दशैंमा यो समयमा झन्डै १ लाख मानिसले उपत्यका छोड्ने गरेका थिए।
बिहीबार मात्र ९ हजार ६३० जना मानिस काठमाडौं आएका छन्। सोहिदिन ३ हजार ८९५ वटा सवारी साधन उपत्यका बाहिरिँदा २ हजार ४६४ वटा काठमाडौं भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
त्यस्तै बुधवार ( कार्तिक ५) २५ हजार २१८ जना मानिस घर फर्किएका छन्। १६ हजार ३४७ मानिस सोही दिन काठमाडौं उपत्यकाभित्र छिरेको देखिन्छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार कार्तिक १ गतेदेखि दैनिक २३ हजार मानिसले मात्र काठमाडौं उपत्यका छोडेका छन्। कार्तिक १ गते २१ हजार ४७९ जना मानिस काठमाडौं नाकाबाट बाहिर गएको देखिन्छ। सो समयमा ४ हजार ७२१ वटा सवारी साधन बाहिरिएका छन्।
कार्तिक २ गते २३ हजार ३९२ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। दुई र चार पाङ्ग्रे गरेर ४ हजार ६५८ वटा सवारी बाहिरिएका छन्। कार्तिक ३ गते ४ हजार ७१९ वटा सवारी साधन बाहिरिएका थिए। सामान्य समय भएको भए यो सङ्ख्या १२ हजार माथि हुन्थ्यो। तर सङ्क्रमणको कारण त्यसो भएन यो पटक। यो अवधिमा २३ हजार ८३६ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्।
कार्तिक ४ गते अर्थात् मङ्गलवार काठमाडौँबाट बाहिरिने मानिसको सङ्ख्यामा कमी देखियो। २२ हजार २९९ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। ४ हजार ४७८ सवारी साधन बाहिरिए।
