PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वडा कार्यालय उद्घाटन गर्दै मेयर शाक्यले भने, 'मेरै कार्यकालमा सबै वडाका भवन नयाँ र सेवाग्राही मैत्री बन्नेछन्'



पहिलोपोस्ट

वडा कार्यालय उद्घाटन गर्दै मेयर शाक्यले भने, 'मेरै कार्यकालमा सबै वडाका भवन नयाँ र सेवाग्राही मैत्री बन्नेछन्'

काठमाडौं : काठमाडौं महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ।

महानगर प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले पनि सोही निर्णय गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै शुक्रवार मेयर शाक्यले वडा नम्बर ९ को वडा कार्यालय भवनको उद्घाटन गरेका छन्।

कार्यक्रममा मेयर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने भनेर गरेको निर्णयलाई पुर्णता दिएरै छाड्ने बताए। ‘हाम्रो लक्ष्य अनुसार नै वडा नम्बर ९ को भवन निर्माण भएको छ। मेरै कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन एउटै शैली र स्वरुपका बनाउने हाम्रो प्रतिबद्धतालाई पूरा गरेरै छाड्ने छु,’ शाक्यले भने। महानगरले छिट्टै महानगरपालिका भवनको पनि शिलान्यास गर्ने तयारी गरेको छ।

प्रमुख शाक्यले सबै वडा भवन बनाउने कार्यक्रम अन्तर्गत वडा वडा–१८ को उद्घाटन भै सकेको जानकारी दिए। ‘आज वडा–९ उद्घाटन भयो। वडा–२६, ३, ४ र १४ को भवन निर्माण सम्पन्न भएको छ। ती भवन पनि छिटै उद्घाटन गर्ने तयारीमा छौँ,’ उनले भने।

महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को भवन निर्माणका क्रममा डिपिसी चरणमा पुगेको छ भने भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरीद प्रक्रियामा रहेका छन्। वडा २० र १६ को डिजाइन सकिएर खरीद प्रक्रियामा जाने चरणमा पुगेको छ भने वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ। केही दिनअघि मात्रै प्रमुख शाक्यले नै वडा २२ को वडा कार्यालय भवन शिलान्यास गरिसकेका छन्।

कार्यक्रममा सम्वोधन गर्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करीब ४५ वर्षदेखि जिर्ण रहेको भवनबाट सेवा दिँदै आएकोमा वडा–९ ले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताए। वडा सदस्य सिर्जना भेटवालले जिर्ण भवनबाट पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएको स्मरण गराउँदै कोभिड–१९ को जोखिमका बेला सुविधा सम्पन्न भवनबाट सेवा दिने अवसर प्राप्त भएको बताइन्। वडाका जनप्रतिनिधि र वडावासीका लागि आजको दिन ऐतिहासिक भएको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell