काठमाडौंको थापाथलीबाट वाग्मती नदीमाथि बनाइएको पुल तरेर ललितपुरको कुपण्डोल पुग्दा सडकका दायाँबायाँ हरिया रंगले पोतिएको देखिन्छ। यसरी हरियो रंगले छुट्याएको भाग साइकल लेन हो। त्यसैले हरियो लेनमा साइकलको चित्र समेत बनाइएको छ।
महानगरलाई साइकल सिटी बनाउने अवधारणासहित साइकल यात्रीहरूलाई सहज बनाउन साइकल लेन बनाइएको हो। हाललाई निश्चित क्षेत्र छुट्याएर साइकल लेन बनाइएको हो। भित्री शहरमा सडक सानो भएकाले त्यहाँ भने यसरी लेन बनाउनसक्ने अवस्था भने छैन।
यसरी साइकल मैत्री सडक बनाउन हरियो रंग लाएर ‘डेडिकेटेड’ लेन छुट्याउने काम गरेको हो ललितपुर महानगरपालिकाले। महानगरपालिकाका अनुसार यस लेनमा साइकलबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन।
हाल कुपण्डोल क्षेत्रमा रहेको ललितपुर प्रवेश गर्ने द्वारदेखि जावलाखेलसम्म यसरी सडकको दुवै भागमा डेडिकेड लेन बनाइएको छ। जावलाखेलमा भने राजा वीरेन्द्रको शालिक रहेको भागलाई परिक्रमा गर्ने गरी गोलो आकारमा लेन बनाइएको छ। अझै केही रंग लगाउने क्रम जारी छ।
महानगरका अनुसार चालु वर्षमा करिब ५ किलोमिटर साइकल लेन बनाउने योजना रहेको छ। आउने वर्ष लेन अन्य स्थानमा बढाउने तयारी समेत भइरहेको छ।
साइकल लेनमात्रै होइन, महानगरले साइकल पार्किङ गर्नसमेत स्थान छुट्याएको छ। हाल महानगरपालिका कार्यलयको अगाडि साइकल पार्क गर्न स्टेशन बनाइएको छ। अन्य स्थानमा पनि छिट्टै साइकल पार्किङ स्टेशन बनाउने योजना रहेको छ।
ललितपुरले साइकल लेन त बनायो। यसले धेरै चर्चा पनि बटुल्यो। तर, लेन बनाइएको स्थानमा नै ट्याक्सी, मोटरसाइकल र निजी सवारी साधन पार्क गरेर राखेका तस्विरहरू समेत सार्वजनिक भएका छन्। सामाजिक संजाल प्रयोगकर्ताहरूले यसरी लेन देख्दा देख्दै पार्किङ गर्नेहरूलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।
नेपाल साइकल सोसाइटीको सहयोगमा ललितपुर साइकलमैत्री बन्न गइरहेको हो। पहिलो चरणको साइकल लेन बनाउने काम ९५ प्रतिशत सकिसकेको नेपाल साइकल सोसाइटीले जनाएको छ।
