अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसँगै दैनिक संक्रमण दरमा वृद्धी भएको छ। बीबीसीका अनुसार त्यहाँ शुक्रवार मात्र ८३ हजार १० जनामा संक्रमण पुष्टि भएको हो।
अमेरिकी सर्जन जनरल जेरोम एडम्सले अस्पतालमा भर्ना हुनेको संख्या बढ्दो रहेको बताए। उचित स्वास्थ्य सेवाका कारण संक्रमणपछि मर्नेको संख्या भने कम भइरहेको छ।
विश्व स्वास्थ्य संगठनले पनि उत्तरी गोलार्धका देशहरूमा संक्रमणको जोखिम उच्च रहने चेतावनी दिएको छ। संगठनका प्रमुख टेड्रोसले पत्रकार सम्मेलनमा भने,'अबको केही महिना कठिन हुनेछ।'
हालसम्म अमेरिकामा ८० लाख ५० हजार मानिसमा संक्रमण पुष्टि भएको छ।
गत साताभर मात्र ४ लाख ४१ हजार ५ सय ४१ जनामा संक्रमण देखिए। उक्त दर जुलाइ पछिको सर्वाधिक साप्ताहिक संक्रमण दर हो।
