PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महानवमीमा सुनसान बन्यो तलेजु परिसर, मल्लकालपछि पहिलोपटक रोकियो देवी दर्शन



सहयोग रञ्जित

महानवमीमा सुनसान बन्यो तलेजु परिसर, मल्लकालपछि पहिलोपटक रोकियो देवी दर्शन

अवस्था सामान्य भएको भए आजको दिन हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थीहरुको बिहानदेखि नै घुइँचो लागेको हुन्थ्यो। घण्टौं लाइन बसेर दशैंको महानवमीका दिन मात्र खुल्ने यो मन्दिरमा पुग्थे सर्वसाधरण। इष्टदेवी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्थे। तर, यो वर्ष महानवमीका दिन तलेजु भवानी मन्दिर प्रवेश गर्ने ढोका खोलिएन। मन्दिर पुगेका केही भक्तजनहरु ढोकामा नै पूजा गरेका फर्किरहेका छन्। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यो वर्ष सर्वसाधरणका लागि मन्दिर बन्द गरिएको तलेजुका मुख्य पुजारी उद्धव कर्माचार्य बताउँछन्।

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए। तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए। तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन्। यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो।

'यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन। आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो। पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको थियो,' कर्माचार्यले भने।

हनुमानढोकाका साथै काठमाडौं उपत्यका र नेवार बाहुल्य क्षेत्रमा इष्ट देवी तलेजु विराजमान छिन्। कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

कर्माचार्यका अनुसार अहिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको हो। पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो।

उनका अनुसार तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको समयमा सुरु भएको थियो। महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको समयमा सकिएको थियो। महिन्द्र मल्लको निधन हुँदा दशैं नै रोकिएको र इष्ट देवीको दर्शन गर्न समेत रोकिएको कथन रहेको बताउँछन् कर्माचार्य।

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ।

‘महिन्द्र मल्ल बित्दा दशैं नै परेकोले दशैं नै रोकिएको थियो भन्ने छ। त्यो बेला जनतापनि कम नै थिए। पूजा र दर्शन गर्न सर्वसाधरणलाई समेत रोकिएको थियो भन्ने छ। हामीकहाँ टिपोट गरिएको अनुसार र मलाई जानकारी भए अनुसार मल्लकालपछि यसरी देवी दर्शन गर्न रोकिएको थाहा छैन।’ कर्माचार्यले भने।

सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएपनि मन्दिरमा हुने अन्य सबै पूजा यथावत् रुपमा संचालन हुनेछन्। तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन्। सबैको आ- आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा हुँदैन।

‘पूजा रोकिने भन्ने कुरा हुँदैन। हरेक दिन पूजा हुन्छ। यसपटक परिस्थितिका कारण सर्वसाधरणका लागि देवी दर्शन गर्न मन्दिर खोल्न सकिएन त्यसका लागि देवीसँग क्षमा माग्छौं,’ कर्माचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell