काठमाडौं : बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ।
कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन्। नवरात्रीमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ। तर, भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको हो।
कुभिण्डो खासगरी नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ। तर, यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ।
माग घटेपछि मूल्यपनि घटेको छ। गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा बिक्री भएको तर यस वर्ष १ सयदेखि १ सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन्।
काठमाडौंको आरएनएसी क्षेत्रमा पुग्दा व्यापारीहरुले सडकमा कुभिन्डो बिक्रीका लागि राखेको देखिन्छ तर कुभिन्डो किन्नेहरु देखिदैनन्। अघिल्लो वर्ष दुई तीन सयको संख्यामा कुभिन्डो बिक्री भएको तर अहिले १०/१५ वटा पनि बिक्री नभएको गुनासो व्यवसायीहरुको छ।
