PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अर्नब गोस्वामीको रिपब्लिक टिभीविरुद्ध मुद्दा, सम्पादक समूहका ४ पत्रकारमाथि सोधपुछ, एनबीएको आपत्ति



पहिलोपोस्ट

अर्नब गोस्वामीको रिपब्लिक टिभीविरुद्ध मुद्दा, सम्पादक समूहका ४ पत्रकारमाथि सोधपुछ, एनबीएको आपत्ति

मुम्बई प्रहरीमा 'विद्रोह'को खबर प्रसारण गरेको रिपब्लिक टेलिभिजन च्यानलविरुद्ध मुद्दा परेको छ। मुम्बई पुलिसले टेलिभिजनको सम्पादकीय समूहका ४ जनाविरुद्ध एनएम जोशी नगर पुलिस स्टेशनमा मुद्दा दर्ता गराएको हो।

मुम्बई पुलिसका उप निरीक्षक शशीकान्त पवारको उजुरीका आधारमा नगर प्रहरीले रिपब्लिकका डेपुटी एडिटर शवन सेन, च्यानलका कार्यकारी सम्पादक निरंजन नारायणस्वामी, डेपुटी न्यूज एडिटर सागरिका मित्रा र एंकर शिवानी गुप्ताविरुद्ध मुद्दा दर्ता गरेको हो।

नगर प्रहरीले शनिवार चारै जनाको वयान लिएको छ। प्रहरीले अन्य कर्मचारीलाई पनि आरोपी बनाएको छ। उप निरीक्षक पवारले प्रहरीमा असन्तोष उत्पन्न गराउने षडयन्त्र गरेको भन्दै मानहानीको मुद्दा गराएका हुन्। प्रहरी संगठनका सदस्यबीच असन्तोष पैदा गर्नु पुलिसको मानहानी समान भएको उनले जिकिर गरेका छन्।

रिपब्लिक टेलिभिजनले कमिश्नर परमबीर सिंहको निर्णयले मुम्बई पुलिसका जवान विद्रोहको स्थितिमा पुगेको दावी गरेको थियो।

यो मामिलामा प्रधान सम्पादक अर्नब गोस्वामीले एक करोड मुद्दा दर्ता गराएपछि नडराउने प्रतिक्रिया दिएका छन्। आफूहरु सत्यका लागि लड्ने भन्दै जवाफ दिने उल्लेख गरेका छन्। अदालत जाने चेतावनी दिएका छन्। रिपब्लिक टिभी फर्जी टिआरपी प्रकरणमा पनि आलोचित छ।

एनबीए चिन्तित

न्यूज ब्रोडकास्टर्स एसोसिएशन (एनबीए)ले रिपब्लिक टिभी र मुम्बई पुलिसबीचको टकरावले मिडिया र पुलिस दुबै प्रमुख संस्थाको विश्वसनीयता र प्रतिष्ठाका लागि खतरा पैदा भएको उल्लेख गरेको छ। एनबीएले आइतवार विज्ञप्ति जारी गर्दै न्यूज रूममा काम गर्ने पत्रकारलाई यो दुर्भाग्यजनक टकरावको निशाना बनाएकोमा चिन्ता व्यक्त गरेको छ।

एनबीएले रिपब्लिक टिभीको पत्रकारिता शैलीलाई आफूहरुले समर्थन नगर्ने भन्दै रिपब्लिक एनबीएको सदस्य नभएको, आचार संहिता पनि पालना नगरेकोमा आफूहरुरको सधै असन्तुष्टि रहेको उल्लेख गरेको छ। तर एडिटोरियल स्टाफविरुद्ध मुद्दा दायर गर्ने कारवाहीप्रति पनि एनबीएले आपत्ति जनाएको छ। 'हामी भारतको संविधानमा मिडियालाई दिएको अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हौं। साथै हामी पत्रकारितामा नैतिकताका मापदण्ड र रिपोर्टिङमा निष्पक्षता र सन्तुलन बनाइराख्नुपर्छ भन्ने मान्यता राख्दछौं,' एनबीएले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell