PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यसरी तयार भएको थियो सुगम पोखरेलको ‘दशैं गीत’



पहिलोपोस्ट

यसरी तयार भएको थियो सुगम पोखरेलको ‘दशैं गीत’

९ वर्षअघिको कुरा हो। गायक सुगम पोखरेल दशैं विशेष कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका थिए। त्यो वर्ष दशैं त्यस्तै भयो। परिवारबाट पर, न टीका-जमरा न आशिर्वाद। कार्यक्रमको रमझम र साथीहरूसँगै रहेर पनि केही खल्लो महसुस गरे उनले।

विशेषगरी विराटनगर घरमा हुँदाका दिनहरू खुब सम्झिए। यादहरू बिच  हर्षोल्लास चल्दै थियो अमेरिकामा। एक्लै हुँदा केही शब्द कोरे :

वर्षमा दिनमा लै लै

हर्षका दिन यी लै लै…

गीतलाई पूर्णता दिन भने सकेनन्। तर, चाड पर्वको समयमा विदेशमा रहँदा जे महसुस गरे, भोगे, सोचे वा देखे ती अनुभूतिहरूलाई शब्दमा उतार्न हौस्याए साथी रवि श्रेष्ठले।

रविलाई उनले आफूले विदेशमा हुँदा भोगेको खल्लो दशैंबारे सुनाए। उनैले ती अनुभूतिलाई गीत बनाउन प्रेरित गरेका हुन्। उनी स्वयं कहिले काहीं गीत कोर्ने भएकाले सुगमसँग सहकार्य गर्ने भए।

रविले सुगमले लेख्दालेख्दै छाडेको गीतलाई पूर्णता दिए। सुगमले संगीत र स्वर दिए।

'दशैंमा घरबाट टाढा हुँदा एक किसिमको अभाव महसुस हुने रहेछ। त्यही हुन त त्यहाँ पनि साथीभाइसँग उत्सव मनाइन्छ। तर, नेपालमा आफ्नै गाँउठाँउ साथीभाई परिवारसँग दशैं मनाउनुको मज्जा नै छुट्टै हुँदो रहेछ’, उनले पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए।

दशैं मनाउन नपाउनेको पीडा र भावना गीतमार्फत् प्रस्तुत गरिएको छ। गीतले दशैंमा आफ्नो घर परिवारबाट टाढा रहेका घरपरिवार तथा साथीभाई इष्टमित्रको झल्को दिन्छ। 

केही वर्षयता त दशैं नजिकिएसँगै गुञ्जन थाल्छ यो गीत।

२०११ मै उक्त गीत सार्वजनिक त भयो। तर, खासै चलेन। आम दर्शक, श्रोताले रुचाउनका लागि करिव तीन वर्ष लाग्यो।

'त्यो दशैंको गीत पपुलर हुन वर्षौ लाग्यो। सुरुको वर्षमा नोटिस भएन। अर्को दशैंमा अलि कति बढी नोटिस् भयो। २०१५ तिर बल्ल गीत श्रोताको रोजाइमा पर्‍यो’, उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell