राजविराज : कृषि उपजको लागि मुख्य क्षेत्र हो प्रदेश दुइ। धान तथा गहुँ बालीको मुख्य पकेट क्षेत्रका रुपमा सप्तरी जिल्लालाई चिनिन्छ।
विभिन्न बाली उत्पादन गर्ने क्रममा कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। ५० वर्ष पहिले स्थापना भएको यो कार्यालय अन्तर्गत तीन वटा सिंचाई प्रणाली सञ्चालनमा छन्।
कोशी नदीबाट पानी ल्याएर करिब २६ हजार हेक्टर सिंचाई गर्न कोशी पम्प नहर सिंचाई प्रणाली र कोशी पश्चिमी वितरण नहर सिंचाई प्रणाली सञ्चालनमा छन्। त्यसैगरी, त्रियुगा नदीबाट पानी ल्याएर नहरको माध्यमबाट किसानको खेत खेतमा पानी पुर्याउने चन्द्र नहरले पनि जिल्लाको सिंचाईमा राम्रो भूमिका खेलेको छ।
सन् १९७१ मा शुरुवात भएको कोशी पम्प नहर सिंचाई प्रणाली र कोशी–पश्चिमी वितरण नहर सिंचाई प्रणालीको संरचना अहिले जीर्ण बन्दै गएका छन्। सरकारको उदासीनताको कारण ती सिंचाई परियोजनाको भौतिक पूर्वाधार तथा संरचना पुनर्निर्माण हुन नसकेको किसानहरुको भनाइ छ। भारत सरकारको सहयोगमा बनेको परियोजनाको मर्मत सम्भार तथा पुनर्निर्माण भारत सरकार तयार भए पनि चार वर्षदेखि उक्त परियोजनाको पुनर्निर्माण प्रक्रिया रोकिएको छ।
प्राविधिक रूपमा अध्ययन गर्दा पुनर्निर्माणको कामको लागि करिब चार अर्बको लागत इस्टिमेट गरेको थियो। कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले नहर सिचाई प्रणालीको दुई हजार केभिएका दुई ट्रान्सफर्मरमध्ये एउटा बिग्रिसकेको बताए। अर्को ट्रान्सफर्मरमा खराबी उत्पन्न भयो भने पानी लिफ्टिङको काम पनि रोकिने छ। यसमा दुई वटा पम्प हाउस छन्। विद्युतीय र अधिकांश मेशिन तथा पार्टपूर्जा जीर्ण भएको उनले जानकारी गराए।
त्यसैगरी कोशी पम्प हाउसको एमओसिबी(मिनिमम आयल सर्किट,ब्रेकर) इन्टरनल सिटि/पिटी,मिटरिङ युनिट,फिल्ट्रेसन प्लान्ट लगायत संरचना जीर्ण भएको छ। कोशी पम्प हाउस ‘ए’ र ‘बी’ मा प्रति हाउसमा ४ वटा २.७५ क्यूमेक र २ वटा १.५ क्यूमेक पानी फाल्ने मोटर पम्प जडान गरिएको छ । पम्प ‘ए’ ले २१ फिट माथि नहरमा पानी फाल्छ भने ‘बी’ले २९ फिट उचाईमा निर्माण गरिएको नहरमा पानी पुर्याउँछ।
‘ए’ र ‘बी’ पम्प हाउसले १४ क्यूमेक पानी फाल्ने क्षमताको छ। तर ३३ किलोमिटर लम्बाइको नहरले २६ हजार ३ सय ६२ हेक्टर क्षेत्रफल सिंचाई गर्दै आएको छ। सिंचाई व्यवस्थापन कार्यालय बर्सेनी नेपाल सरकारले दिने बजेटको अभावको कारण पनि नहरको मर्मत सम्भार तथा अन्य काम गर्न समस्या भइरहेको जनाएको छ।