PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

एकादशीमा मात्रै टीका लगाउने असनको कथा



सहयोग रञ्जित

एकादशीमा मात्रै टीका लगाउने असनको कथा
फाइल फोटो

काठमाडौं : नेपालीहरुले विजया दशमीका दिन मंगलवार मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरे।  यो क्रम आउन कोजाग्रत पूर्णिमासम्म चल्नेछ।  यसपटक कोरोना भाइरसको संक्रमणका कारण दशैं पहिला वर्ष झैं नभएपनि सर्वसाधरणले सतर्कता अपनाउँदै दशैं मनाएका छन्।

सारा देश टीकाको रौनकमा रमेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजया दशमीका दिन टीका लगाएनन्।

विशेषगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजया दशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले विजया दशमीमा नभइ आज अर्थात एकादशीका दिन टीका लगाएका छन्। आजको दिनलाई उनीहरुले 'असं चालं' का रुपमा मनाउने गर्छन्। बाहिरबाट असनमा आएर त्यतै बसोबास गर्ने तुलाधर, शाक्य बज्राचार्यका साथै नेवार समुदायका अरु मानिसहरुले भने दशमीका दिन नै टीका लगाएका थिए।

अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई आज अर्थात एकादशीका दिन टीका लगाउँदैछन्। अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने परम्परा रहँदै आएको छ। असनमा पाया (खड्ग जात्रा) निकालेपछि प्रायले टीका थाप्ने चलन रहदै आएको छ। तर यसपटक कोरोनाका कारण पाया निकाल्ने विषय प्रस्ट हुन सकेको छैन। अरुले झै असनका रैथानेहरुले पनि स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आज टीका लगाउँदैछन्।

किन एकादशीका दिनदेखि मात्र टीका?

नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। असनमा भने एकादशीको दिनमात्रै असं चालं मनाइन्छ।

असनका स्थानीय लाभरत्न तुलाधरका अनुसार असं चालंका बारे बुझ्न असनको नामका बारे बुझ्न जरुरी छ। धाल्छिक बहालमा रहेको पुरानो शिलालेखमा यस स्थानको नाम 'अशोकमण्डप' उल्लेख थियो।

अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए। उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए। अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम 'अशोकमण्डप' बन्न गएको लाभरत्नले बताए।

नेपाली समाजमा लामो शब्दलार्इ छोटो बनाउने प्रचलन रहेको हुँदा अशोकमण्डपको नाम असन रहन गएको उनको भनाइ छ।

अशोकले यसलाई आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए। तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ती गरिरहेकोमा पश्चताप गरे। राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्न भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको लाभरत्नले बताए।

कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए। उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो। त्यस अनुसार वध गर्नु पर्थ्यो।

तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचारकहरु मान्दै आएकाहरुले उनीहरुलार्इ रोके। अशोकले अस्त्र त्याग गरेको स्थानमा बली दिन नहुने अडान लिए।

सारा देशले गरेको, असनमा मात्र नमनाउने कुरा पनि त भएन। त्यसैले दुई पक्षबीच दशमीको भोलिपल्ट बली दिने सहमति भयो। यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चाल का रुपमा मनाउन गरिएको उनी बताउँछन्।

एकादशीमा टीका लागाउने अर्को कथन पनि रहेको छ।  टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले उनीहरुले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको दीपेश तुलाधरले बताए। टीकाका दिनहरु पनि मान्छेहरुलाई विभिन्न सामान चाहिने हुँदा उनीहरुलाई दुःख नहोस भनेर आफ्ना पूर्वजहरुले टीका एकदिन पछि मनाउन सुरु गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell