काठमाडौंः सरकारले कात्तिक ७ गते मध्यरातबाट क्लिन फिड (विदेशी विज्ञापनरहित) लागु गरेपछि यसको प्रभाव देखिन थालेको छ।
क्लिन फिडका कारण चर्चित कार्टुनदेखि समाचार च्यानलहरुले नेपालमा आफ्नो प्रसारण बन्द गरेको सूचना स्थानीय केबल तथा सेटलाइट अपरेटरहरुलाई पठाएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। ‘कात्तिक ८ गतेबाट कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द भएको छ,‘ आचार्यले भने।
यी चार च्यानल उपलब्ध गराउँदै आएका वितरकहरुले क्लिन फिड प्रसारण गर्नुपर्ने सरकारी नीतिका कारण नेपालमा अब उपलब्ध नगराउने भन्दै च्यानलहरुको वितरण/री-ट्रान्समिसन बन्द गराएको वितरकहरुको भनाइ उदृत गर्दै आचार्यले बताए।
नेपालमा अहिले भारतीय टेलिभिजन नेटवर्क 'जी' र 'सोनी'को प्याकेज अन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा प्रसारण भइरहेका छन्। सोनीको प्याकेजमा सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत च्यानल छन्। जी नेटवर्कअन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा, & पिक्चर्स, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायतका च्यानलहरु छन्।
यस्तै स्टार, डिस्कभरी, बीबीसी, कलर्सलगायतका नेपालमा चर्चित च्यानलहरु पनि अहिलेसम्म प्रसारण हुन सकेका छैनन्। नेपालले क्लिन फिडको नीति कार्यान्वयन गर्दैन भन्दै च्यानल कम्पनीहरूले पूर्व सूचनालाई गम्भीरतापूर्वक लिएका थिएनन्। नेपालका च्यानल वितरकहरूले पनि सम्बद्ध कम्पनीहरूलाई बुझाउन ध्यान दिएका थिएनन्। धैरैजसो केबल टिबी सञ्चालकहरूले पनि नेपालले विदेशी च्यानलको प्रसारण रोक्नै नसक्ने आकलन गर्दै आएका थिए।
क्लिन फिडको नीति लागू भएपछि सिनेमा, मनोरञ्जन, खेलकुदलगायत बिभिन्न प्रकारका विदेशी च्यानल नेपालमा प्रसारण बन्द भएको छ।ग्राहकबाट वर्षभरिको शुल्क उठाइसकेका च्यानल वितरक कम्पनीहरूको यतिबेला आलोचना भइरहेको छ। धेरैजसो विदेशी च्यानल बन्द छन्। क्लिन फिडसहित कहिलेबाट पुनः प्रसारण हुन्छ भन्ने टुंगो छैन।
