लुम्बिनीः बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ बजेर १७ मिनेटमा र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे मृत्यु भएको हो ।
महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो ।
बुटवलका पुरुष यही कात्तिक ७ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको र उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।