PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए : ७२० जना डिस्चार्ज, ४ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए : ७२० जना डिस्चार्ज, ४ जनाको मृत्यु

विराटनगर : मंगलवार प्रदेश १ मा ७२० जना डिस्चार्ज भएका छन्। जसमध्ये होमआइसोलेसनबाट मात्र ७१५ जना डिस्चार्ज भएका हुन्। मोरङको विराट मेडिकल कलेजबाट ३ र मेची अस्पताल झापाबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलवार डिस्चार्ज भएका ७२० जनासँगै हालसम्म ९ हजार ४४६ जना संक्रमण मुक्त भएका छन्। त्यस्तै, मंगलवार ४३ जना कोरोना संक्रमित थपिएका छन्। जसमा प्रदेश १ को सुनसरीमा ३०, झापामा ७ र मोरङमा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलवार १६४ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

मंगलवार सुनसरीको धरानमा २७, इटहरीमा ३, झापाको विर्तामोडमा ४, दमकमा २, भद्रपुरमा १ जनामा संक्रमण देखिएको छ। यता मोरङको सुन्दरहरैचामा ३, विराटनगर, उर्लाबारी र कटहरीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलवार थपिएका ४३ सहित प्रदेश १ मा कोरोना संक्रमित संख्या १७ हजार ६९४ पुगेको छ। त्यसो त प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मोरङ र सुनसरीमा २/२ पुरुषको मृत्यु भएको हो। हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell