युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनिस महारथी रियल मड्रिड जर्मन क्लब मोन्चेनग्लाडबाखसँग बराबरीमा रोकिएको छ। बोरुसिया पार्क मैदानमा भएको खेलमा मड्रिड घरेलु टोलीसँग २-२ को बराबरीमा रोकिएको हो।
खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। ग्लाडबाखका लागि ३३ औं मिनेटमा मार्कस थुरमले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १ गोलले अघि रहेको घरेलु टोलीका लागि थुरमले नै दोस्रो गोल पनि थपे। उनले खेलको ५८ औं मिनेटमा दोस्रो गोल गरेका थिए।
खेलमा दुई गोलको अग्रता बनाइसकेको ग्लाडबाख खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो। रियल मड्रिडका लागि खेलको ८७ औं मिनेटमा करिम बेन्जेमाले र अतिरिक्त समयमा कासेमिरोले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यस्तै गएराति नै भएको समूह बी को अर्को खेलमा इन्टर मिलान र सख्तर डोनेट्स्कले गोलरहित बराबरी खेले।
समूह बीमा सख्तर ४ अंकसहित शीर्षस्थानमा छ भने लगातार दुई खेलमा बराबरी खेलेका ग्लाडबाख र इन्टर समान २ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै पहिलो खेलमा पराजित र दोस्रो खेलमा बराबरी खेलेको रियल मड्रिड एक अंकसहित तालिकाको पुछारमा छ।
