पोखरा : गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।
थप हुनेमा कास्कीका ९८, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक/एक जना छन्।
गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मंगलवार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ।
त्यस्तै, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।