युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले युभेन्टसमाथि जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई २-० ले हराएको हो।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र ओस्माने डेम्बेलेले गोल गरे।
बार्सलोनाले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गर्दा बार्सलोनाले खेलमा अग्रता बनाएको थियो। खेलको ८५ औं मिनेटमा मेरिह डेमिरल रातो कार्ड खाँदै बाहिरिँदा युभेन्टटस १० खेलाडीमा सीमित भएको थियो। खेलको अतिरक्त समयमा बार्सिलोनाले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले अर्को गोल थपे। र, बार्सिलोनाले युभेन्टसलाई हराँदै समूहमा लगातार दोस्रो जित निकाल्यो।
युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो कोभिड १९ को सङ्क्रमणका कारण खेलमा सहभागी थिएनन्।
त्यस्तै गएराति नै भएको अर्को खेलमा फेरेन्कभारोस र डाइनामो क्यिभले २-२ को बराबरी खेले।
लगातार दोस्रो जित निकालेको बार्सिलोना समूहको शीर्ष स्थानमा छ। त्यस्तै एक खेल जितेको युभेन्टस दोस्रो स्थानमा छ।
