PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बाराको कबहीगोठमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट बालक घाइते



राधेश्याम पटेल

बाराको कबहीगोठमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट बालक घाइते

वीरगंज : बाराको सुवर्ण गाउँपालिका वडा २ कबहीगोठमा गएराति साढे ८ बजे प्रहरी र स्थानीयबीच झडप हुदाँ ४ जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय १३ वर्षीय बालक र ३ जना प्रहरी रहेका छन्।

घाइते हुने प्रहरीहरुमा ईलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद गिरी, एक जना हवल्दार र एक जना प्रहरी जवान रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

गम्भीर घाइते भएका १३ वर्षीय बालक रन्जनकुमार यादवको एसआर क्लिनिकमा उपचार नभएर बुधवार राति नै नारायणी बयोधा अस्पताल गण्डक वीरगंजमा ल्याइएको थियो। उसको टाउकोको बायाँ भागमा गोली लागेको सिटिस्क्यानबाट देखिएको अस्पताल स्रोतले जनाएको छ।

केही मिडियमा बालकको मृत्यु भएको खबर आए तापनि बालक जिवित रहेको र उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका विपिन गोयलले जानकारी दिए।

बुधवार राति स्थानीयहरुले आलुको वीउ भारतबाट ल्याईरहेको अवस्थामा प्रहरीले तस्करीको समान ओसारपसार गरेको भन्दै नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरी माथि आक्रमण गर्दा झडप शुरु भएको थियो। प्रहरीको गोली लागि बालक घाइते भएपछि बिहीवार विहानदेखि स्थानीयले ईलाका प्रहरी कार्यालय कबहीगोठ घेराउ समेत गरेका स्थानी बताउँछन्।

बाराका प्रहरी उपरीक्षक पंगेनीका अनुसार तस्करीको समान बरामद भएपछि प्रहरीको जिप सीमावर्ती क्षेत्रमा पुग्दा अचानक ढुंगामुढा गरी आक्रमण गरेपछि सुरक्षाकर्मीले आत्मरक्षाको लागि १२ राउन्ड हवाई फायर गरी अवस्था नियन्त्रणमा लिने प्रयास गरेका थिए।

बालकलाई प्रहरीको गोली लागेको भन्ने विषयमा शल्यक्रिया भएपछि बालकको टाउकोमा प्रहरीको गोली लागेको हो की अन्य केही वस्तु पसेको छ भन्ने विषयमा स्पष्ट हुने पंगेनीले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell