काठमाडौंः बाँके प्रहरीले १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। बुधवार राती बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर १० जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
नेपालगंज उप महानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको वलीको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले २९ लाख ४८ हजार रुपैयाँ समेत बरामद गरेको छ। उनीहरू विरुद्ध जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
