PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भिटेनको र्‍याप फेरि विवादमा, प्रहरीले कारवाहीका लागि प्रकृया अघि बढायो



पहिलोपोस्ट

भिटेनको र्‍याप फेरि विवादमा, प्रहरीले कारवाहीका लागि प्रकृया अघि बढायो

काठमाडौं : एक वर्षअघि 'हामी यस्तै त हो नी ब्रो' गीत'का कारण विवादमा मुछिएका भिटेन उर्फ समिर घिसिङ फेरि विवादमा तानिने भएका छन्।

एक वर्षअघि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गीतमा उनले प्रहरीलाई डण्ठे सम्बोधन गरेकोदेखि अश्लील गाली गरेको भन्दै पक्राउ गरेको थियो। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेकामा आपत्ति जनाइएको थियो।

एकवर्षपछि उनले पुन: त्यस्तै अश्लिल शब्दहरू भरिएको गीत सार्वजनिक गरेका छन्। र्‍यापमा प्रहरीलाई गाली समेत गरिएको छ। त्यस्तै भिडियोको सुरुमा नै प्रहरीको गाडी विस्फोट गराएको देखाइएको छ। यसपटक पनि प्रहरीलाई 'डण्ठे' शव्द दोहोर्‍याएका छन्। यही विषयलाई लिएर प्रहरीले भिटेनको गीत माथि अनुसन्धान सुरु गरिसकेको छ।

'पहिले पनि गीतको कारण नै सम्झाएर छोडेका हौं। अहिले पनि त्यस्तै प्रकृतिको र्‍याप गरेको देखियो। अनुसन्धान भइरहेको छ। आवश्यक देखिए कारवाही हुन्छ', नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर बहादुर कठायतले भने।

प्रहरी प्रधान कार्यालय नक्सालले र्‍यापको बिषयमा अनुसन्धान गरी आवश्यक देखिएमा कारवाही गर्ने भन्दै केन्द्रीय साइवर व्यूरोलाई पत्रचार गरेको एसएसपी कठायतले जानकारी दिए।

पाँचदिन अघि युटुवमा हालेको भिडियो अहिलेसम्म ११ लाख पटक हेरिएको छ। त्यस्तै गीतको कारण नै यसअघि गायक दुर्गेश थापा पनि प्रहरी कारवाहीमा परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell