PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मुकेशको घरमा एक सातादेखि बलेन चुल्हो, श्रीमती सुनिता भन्छिन्, ‘हामीले न्याय पाउनु पर्छ’



राधेश्याम पटेल

मुकेशको घरमा एक सातादेखि बलेन चुल्हो, श्रीमती सुनिता भन्छिन्, ‘हामीले न्याय पाउनु पर्छ’

वीरगंज : देशभर वडा दशैंको हर्षोल्लास छ। तर, पर्साका एक जना नेकपाका नेताको घरमा एक सातादेखि चुल्हो बलेको छैन। पर्सा विन्वासिनी गाउँपालिका २ बहुअर्वाभाठाका ४० वर्षीय मुकेश चौरसियाको घरमा एक सातादेखि चुल्हो नबलेको हो।

नेकपा पार्टीकै गत बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीमा आयोजना भएको शपथग्रहण कार्यक्रममा पूर्व माओवादी र पूर्व एमाले कार्याकर्ताबीच भएको झडपमा परी मुकेश चौरसिया गम्भीर घाइते भएका थिए। नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि वीरगंजको पानीटंकीमा रहेको एलएस न्यूरो अस्पतालमा गत शुक्रवार बिहान १० बजे उनको मृत्युको खबरले अहिले नेकपा पार्टी नै शोकमा डुबेको छ।

त्यस कारण मुकेशको गाउँघर पनि शोकमा डुबेको छ। दुई पक्षको झडपमा परी पूर्व एमाले समूहका कार्यकर्ताले भाटाले हानी हत्या गरेकोले उनको हत्यामा पूर्व सभासद राजकुमार गुप्ताको संलग्नता रहेको भन्दै पीडित परिवारले आरोप लगाएका छन्। नेकपा पर्साका एउटा समूह उनको हत्यारा पत्ता लगाई आवश्यक कारबाहीको माग गर्दै एक सातादेखि वीरगंजमा धर्ना प्रदर्शनमा जुटेको छ।

यसअघि पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा पर्सा क्षेत्र नम्बर ३ बाट प्रथम संविधान सभामा निर्वाचित सविधान सभा सदस्य राजकुमार गुप्ताको उपस्थिति नरहेकोले उनको नाम हटाएर जाहेरी ल्याए मात्र दर्ता गरिने भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेकी थिइन्। जसको कारण नेकपा पर्साले प्रदेश २ र देश भरी नै आन्दोलन चर्काएको थियो। तर, हाल भने प्रहरीले जाहेरी दर्ता गरेको छ।

आफ्नो श्रीमानको हत्यामा राजकुमारको हात रहेको मुकेशकी श्रीमती सुनिता देवीको दावी छ। नेकपा नेता मुकेश चौरसियाकी श्रीमती सुनिता देवीले पूर्व सभासद गुप्ताकै योजनामा आफ्नो श्रीमानको हत्या भएको आरोप लगाएकी छन्। उनले घटनामा संलग्न अभियुक्तहरु पूर्व सभासद गुप्ताको वीरगंज श्रीपुरस्थित निवासबाट पक्राउ परेकोले उनकै साजिशमा श्रीमानको हत्या भएको बताउँदै आएकी छिन्।

उनले आफनो पतिको हत्यारालाई उन्मुक्ति दिने पर्सा प्रहरीको अधिकारीलाई समेत कारबाही हुनु पर्ने माग गरिन्।

के भएको थियो झडपको दिन?

मुकेश पत्नी सुनितालाई पार्टीको बैठकमा जादैछु, दिउँसो २ बजे सम्म आउछु भनेर घरबाट बिहान १० बजे निस्केका थिए। घरबाट खाना खाएर निस्केका मुकेश फेरी फर्केर घर आएनन्। उनको झडपमा परी टाउको फुटेको खबरले परिवारजन दुखित थियो, शुक्रवार मृत्युको खबरले झनै पीडामा पर्यो मुकेशको परिवार।

मुकेशका भाइ जयराम चौरसियाका अनुसार १ बजे भनिएको शपथग्रहण कार्यक्रममा कार्यक्रम शुरु हुनु भन्दा अगावै झडप भएको थियो।

‘प्रसौनी बजार भन्दा दुई सय मिटर उत्तरमा ब्रहमस्थानको पश्चिमपट्टि एउटा सेलर मिल (धान कुट्ने मेशिन क्षेत्र) छ। करिब ५०/६० जना अट्ने उक्त मिलको चारै तिरबाट पर्खाल र मुल गेटमा दाई मुकेश र केही कार्यकर्ता र अन्य कार्यकर्ताको पखाईमा थिए’, उनले भने, ‘त्यही अवधिमा मसरुर पब्लिक विद्यालय प्रसौनीको उत्तरमा रहेको चिरान मिल (काठ चिर्ने ठाउँ)बाट ५० जनाको हुल आयो, उनीहरु कार्यक्रमस्थलको सेलर मिलको मुल गेटको छिटकिली लगाएर ब्यानर र पोस्टर खोस्न थाले।’

कार्यक्रम बिथोल्ने रणनीति थाहा पाएपछि मुकेशले प्रतिकार गरे। यत्तिकैमा झडप शुरु भयो।लाठीभाटा लिएर आएका पूर्व एमाले समूहले अचानक लाठी भाटाले कार्यक्रम आयोजकमाथि आक्रमण गरिरहदा एक लाठी मुकेशको टाउमो लागेर उनको दिमाग भित्रको नशाबाट उच्च रक्तश्राव भयो र उपचारको क्रममा मृत्यु हुन गयो।

झडपमा परी मृत्यु भएका नेकपा नेता मुकेश चौरसियाको हत्यामा मुख्य अभियुक्त विन्वासिनी गापा ३ इतियाहीका अखिलेश चौरसिया भएको परिवारजनको दावी छ। त्यसैगरी, लक्ष्मण चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, हनिफ मिया, देवा सहनी, सन्जय चौहान र पूर्व सभासद राजकुमार गुप्तालगायत ९ जना भन्दा बढीको नाम जाहेरीमा रहेको परिवारजनले दावी गरेका छन्।

आन्दोलनमा ओली गुटको सहभागिता छैन

नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न भन्दै वीरगंजमा एक सातादेखि धर्ना जारी भइरहँदा ओली गुटका नेताहरुको सहभागिता देखिएको छैन। नेकपाको शपथ ग्रहण कार्यक्रममा प्रचण्ड र माधव नेपाल गुटका नेताहरुको सहभागिता थियो।

पूर्व सभासद राजकुमार गुप्ता ओली गुटका नेता हुन्। त्यसैले उक्त कार्यक्रम विथोलेको र हत्याको आरोप लागिरहेको छ। अहिले राजकुमार गुप्तासँग नेकपाका नेता एवं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी एक ठाउँमा छन्। उता राजकुमारलाई पर्सा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएकोले अहिले देखि नै पार्टीमा बर्चश्व जमाउन सक्रिय देखिन्छन्। नेकपाका नेता राजकुमार गुप्तालाई कारबाही भयो भने नेकपाका अन्य नेताहरुलाई पर्साबाट टिकट लिन सहयोग पुग्ने पक्का हुने राजनीतिक लडाइँमा नेकपाका केही नेता मुकेश चौरसियाको घटनामा सक्रिय देखिएका छन्।

नेकपाका नेता रहबर अन्सारी र बसरुद्दीन अन्सारीबीच कसले मेयरमा लड्ने अन्यौल बढेको छ भने पर्सा क्षेत्र नम्बर ३ मा राजकुमार र रामचन्द्र साह तेलीबीच टिकट लिन हानथाप हुने देखिएको छ। त्यसैगरी, आन्दोलनमा सघाइरहेका पर्साका नेकपा नेता विचारी यादव पनि अहिले राजकुमार गुप्तालाई कारबाही होस भनी आन्दोलनमा उभिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell