काठमाडौं : बंगलादेशसँग हुन गइरहेको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि बिहीवारबाट दशरथ रंगशालामा एन्फाले प्रशिक्षण शुरु गराएको हो।
यसअघि एन्फाले खेलाडीहरुलाई बुधवारसम्म उपस्थित हुन भनेको थियो। नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेको र महामारीका कारण आउन नमिल्ने कारण देखाउँदै एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको छ। यसअघि असोज ३० मा एन्फाले राखेपबाट अभ्यास शुरु गराउन अनुमति मिलेको जानकारी गराएको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएदेखि हालसम्म फुटबलका सबै क्रियाकलाप ठप्प रहेको थियो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गत अगस्ट १७ बाट हुने तय भएको थियो। तर, फिफा वर्ल्ड कप २०२२ र एसियन कप २०२३ को छनौट चरणका खेलहरु स्थगित भएसँगै नेपाली टोलीको बन्द प्रशिक्षणलगायतका सबै क्रियाकलाप पनि स्थगित भएको थियो।
पछिल्लो समय एन्फाले तीनवटा देशहरुले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको जनाएको थियो। जसमा डोमिनिक रिपब्लिक, बंगलादेश र मंगोलियाले प्रस्ताव गरेका बताइएको थियो। जसमध्ये डोमिनिकन रिपब्लिक र मंगोलियाले नेपालमै खेल्नेगरी प्रस्ताव गरेका थिए भने बंगलादेशले नेपाललाई बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्नेगरी बोलाएको थियो। यसैका लागि नेपालले बंगलादेशसँग खेल्नका लागि प्रकृया अघि बढाएको थियो।
फोटोहरु : एन्फा।
