सुर्खेत : २०४७ सालमा सुर्खेतबाटै नेपाली सेनाको जागिर सुरु गरेका संखुवासभाका जब्बरबहादुर श्रेष्ठ सुर्खेतबाटै जागिरे जीवनको अन्त्य गरे।
करिव १८ वर्ष जागिरे जीवन बिताएका उनले २०६४ सालमा स्वैच्छिक अवकाश लिए।
पल्टनमा रहँदा अनुशासन र मेहनतप्रतिकै लगावले उनलाई रिटायर्ड हुदाँ बैंक तथा कम्पनीमा सुरक्षा गार्डको अफर आएकै थियो। त्यत्तिमात्रै होइन रिटायर्डपछि उनी जापान, अफगानस्तान, इराक, मकाउ जस्ता देशहरुमा जाने सपना देख्ने क्रममा जापान जाने अवसर मिल्यो।
श्रेष्ठले पल्टनकोभन्दा अझ बढी अनुशासन र मेहनत जापानका सर्वसाधारण नागरिकबाट सिक्ने मौका पाए।
‘जब मैले पल्टनमा जागिर गर्दा लाग्थ्यो, अनुशासन र मेहनत यस्तो हुनुपर्छ भन्ने हुन्थ्यो,’ उनले सम्झे,‘पल्टनको अनुशासन र मेहनत भन्दा त्यहाँका नागरिकले गर्ने रैछन्।’
२०६४ चैतमा दश लाख लगानी गरेर जापान पुगे। जापानमा मासिक डेढ देखि अढाई लाखसम्म मासिक तब बुझ्थे।
जापानमा रहँदा २००८ को वर्ल्ड क्यासको चपेटामा पर्दाका बखत उनले सोचे जापान आउँदा गरेको लगानी र परिश्रम, मेहनत गरे नेपालमै केही गर्न सकिने निर्णयमा पुगे। अनि नेपाल फर्किने निधो गरे।
श्रेष्ठका लागि दश वर्षे द्वन्द्वकालमा ज्यान जोगाउन जापान पसेका सुनसरीका नारायण आचार्य उनको प्ररेणाको स्रोत बने।
आचार्यका छोराले ६०/७० हजार मासिक कमाइ गरिरहेको बंगुर फार्मको कहानी सुनेर प्रभावित भए श्रेष्ठ। अनि जापानमै योजना बुने - नेपाल पुगेर बंगुर फार्म खोल्ने। न उनले बंगुरको मासु नै खान्थे न कहिले बंगुर छोएका थिए। तर पनि बंगुरपालन गर्ने निर्णय पक्का गरे।
‘दश वर्षे द्वन्द्वकालमा ज्यान जोगाउन जापान पुग्नुभएको सुनसरीका नारायण आचार्य दाईले आफ्नै छोराले बंगुर पालेर मासिक ६०/७० हजार कमाइ गरिरहेको छ भन्नु भयो,’ श्रेष्ठले भने,‘उहाँकै (सुनसरीका नारायण आचार्य) प्रेरणाले कहिल्यै बंगुर नछोएको मान्छे म बंगुर पालन गर्ने योजना जापानमै बनाए।’
जापानमै रहँदा बंगुरपालन गर्ने योजना गरेका उनले २०६५ मा नेपाल फर्किएर पूर्वको झापा, सुनसरी लगाएतको जिल्ला पुगेर बंगुरपालन गरिरहेकाहरुसँग बंगुर व्यवसायको सम्भावना बुझे।
जागिरको सिलसिलामा विभिन्न जिल्ला पुगेका उनले बंगुर व्यवसायका लागि सुर्खेतमै सम्भावना देखें।
यो पेशा उनका लागि त्यत्ति सहज थिएन। अहिले पनि छैन। किन की बंगुर भन्दा बित्तिकै अधिकांश मान्छेले मन पराउँदैनन् भने छि छि दुर दुर गर्न अझै पनि छाड्दैनन्। जसले गर्दा यो व्यवसायमा चुनौतीलाई सहजै पार लगाएर पूर्व झापादेखि बंगुरको पाठापाठी ल्याएर पालन सुरु गरे।
‘अहिले पनि मान्छेले बंगुरभन्दा छि छि, दुर दुर गर्छ भने, त्यत्ति बेला मलाई यो व्यवसाय सुरु गर्न त्यत्ति सजिलो भएन।’ उनले भने,‘काठमाडौंमा किराना पसल बन्द गरेर मैले यहाँ(सुर्खेत) झापाको एक बंगुर फार्मबाट ३० वटा बंगुरको पाठापाठी ल्याएर पाल्न सुरु गरेको हुँ।’
दश वर्षअघि वीरेन्द्रनगरको लाटीकोईलीमा बंगुर फार्म खोलेर रमाईरहेका श्रेष्ठ अहिले सुर्खेतलाई कर्मथलो बनाईरहेका छन्।
२०६७ सालमा बंगुर व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले साना ठुला गरी ५६ वटा छन्। उनले साना बंगुरको पाठापाठी बिक्री गर्छन् भने, बंगुरको स्याहार सुसारमा लाग्ने खर्च र पारीवारिक खर्च कटाएर मासिक ४० हजार बचत गर्दै आएका छन्।
‘अहिलेसम्म व्यवसायिक रुपमा बंगुर फार्म नभएको जिल्ला कहाँ छ भनेर हेर्दै, बुझ्दै जाँदा सुर्खेत नै देखियो।’ उनले भने,‘०६७ सालमा आएर व्यवसाय सुरु गरे, अहिले राम्रै छ, मासिक ४० हजारसम्म बचत हुन्छ।’
उनले बंगुर व्यवसाय मात्रै नभएर बंगुर बधशालासमेत सञ्चालन गरेका छन्। दैनिक ३/४ वटा बंगुरको मासु बिक्री गर्छन्। व्यवसाय र बधशाला एक्लैले धानेका उनले कामदार पाउन सकिरहेका छैनन्।
‘बंगुरभन्दा वित्तिकै मान्छेले छि छि दुर दुर गर्ने भएर होला। फार्मका लागि कामदार खोज्दा पनि कोही भेटिदैँनन्,’ उनले भने।
व्यवसायको आम्दानीले सन्तुष्ट रहेका उनी सरकारी तवरबाटै बंगुर व्यवसायलाई अपहेलना गरेको उनको बुझाई छ। कृषिका पेशा, व्यवसायलाई सरकारले प्रोत्साहन गरे पनि बंगुर व्यवसायका लागि उचित कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारले पक्षपाती व्यवहार गरेको उनको दुखेसोँ छ।
‘सरकारले कृषि क्षेत्रका अन्य पेशा, व्यवसायीहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याए पनि नितान्त बंगुर व्यवसायका लागि कुनै पनि योजना, कार्यक्रमनै ल्याउँदैनन्,’ उनी भन्छन,‘राज्यले नै एउटै क्षेत्रका व्यवसायहरुलाई विभेद गरेको छ। भएका अनुदान, सहुलियत ऋण समेत पाउँनै सकिन्न।’