काठमाडौं : नेपालमा दशैँको दुई सातामा करिब ४० हजार कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। कार्तिक १ गते (घटस्थापना) देखि आज शुक्रवार कोजाग्रत पूर्णिमा देखि समाप्त हुँदै छ।
यसबीच देशभरमा कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगिसकेको छ। कुल संक्रमित मध्ये ०.५ प्रतिशत अर्थात ९०४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै एक लाख २४ हजार ८६२ अर्थात ७५.८ प्रतिशत निको हुँदा ३८ हजार ९५२ जना अझै पनि आइसोलेसनमा रहेका छन्।
दशैंको यो दुई सातामा मात्र नेपालमा ३८ हजार ५८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यसबीच औषतमा दैनिक दुई हजार ९६७.८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
घटस्थापनाको दिन तीन हजार १६७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि हालसम्मकै सबैभन्दा कार्तिक ५ गते पाँच हजार ७४३ जना संक्रमित पहिचान भएका थिए। जुन दैनिक संक्रमितको संख्याको हालसम्मकै उच्च हो।
त्यसपछि कार्तिक ११ गते दशैँको भोलिपल्ट जम्मा ५७० जनामा संक्रमण पुष्टि भएको थियो।
यसबीच एक लाख ६४ हजार २९ जनाको नमुना परीक्षण भएको छ। दैनिक औषतमा १२ हजार ६१७ जनाको परीक्षण भएको छ। यो तथ्यांक हेर्दा ४.२५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। कुल परीक्षण भएका मध्ये २३.५० प्रतिशत संक्रमित पुष्टि भएका छन्।
त्यस्तै पछिल्लो दुई सातामा १८९ जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। जुन दैनिक औषतमा १४.५ जनाको मृत्यु हो।