चान्सलर एन्जेला मार्केलले जर्मनीमा दोस्रो चरणको लकडाउन घोषणा गरिन्। यस चरणमा सार्वजनिक कार्यक्रम, सभा सम्मेलन एवं बार, रेस्टुरेन्ट, थिएटर, कन्सर्ट हल, जिम र ट्याटू पार्लरहरू बाध्यात्मक रुपमा बन्द गरिएको छ। लकडाउन अवधिमा विद्यालय र केयर सेन्टरहरू भने खुलै रहने बताइएको छ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पनि नयाँ चरणको लकडाउनमा शैक्षिक संस्थाहरू बन्द नगर्ने बताए। आयरल्याण्डले पनि यस महिनाको सुरुवातमै राष्ट्रव्यापी लकडाउन घोषणा गर्यो। त्यहाँ पनि विद्यालयहरू बन्द गरिएका छैनन्।
महामारीबीच शैक्षिक संस्था खुला राख्नुको आलोचना भएको छ। तर, उच्च सतर्कता र सुरक्षा मापदण्ड पूरा गरी शिक्षक र विद्यार्थीलाई पठनपाठनका लागि तयार आह्वान गरिएको छ। न्यूयोर्क टाइम्सले जनाए अनुसार महामारी सुरु भएदेखि प्रभावित पढाईलाई निरन्तरता दिन विद्यालय खुला राखिएका हुन्।
आइरिस प्रधानमन्त्री मिसेल मार्टिनले लकडाउनका कारण देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई केही न्यून गर्न पनि शैक्षिक संस्था खुला राखेको बताए। भने,'हामी हाम्रा बालबालिका र युवाको भविष्यलाई एउटा भाइरसकै कारण रोकिराख्न सक्दैनौं। उनीहरूलाई शिक्षा दिन आवश्यक छ।'
स्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम विद्यालयमा कम हुने बताएपछि प्राय युरोपेली देशले पठनपाठन ठप्प गरेनन्। विद्यार्थीहरूलाई अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न लगाइएको छ।
