बुटवल : बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रवार बिहान मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले शुक्रवार जारी गरेको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना संक्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका-८ का ५५ वर्षीय पुरुषको शुक्रवार बिहान ८ बजे मृत्यु भएको जनाइएको छ।
कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो। कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार हुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास समस्या रहेको अस्पतालले जनाएको छ।